तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

 लिम्बुवान न्युज
                       

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा आएका हुन्।

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक अन्तर्गत सबैभन्दा समस्याग्रस्त मानिएको माङसेबुङ वडा नं. ३ भञ्ज्याङदेखि वडा नं. ६ माङमालुङ (रक्से) बजारसम्मको खण्ड मर्मत गरिएको हो।

नागरिकको आवतजावतलाई सहज बनाउन इलामका माङसेबुङफाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त लगानी गरेका हुन्। चालु आर्थिक वर्ष २०८३/०८४ मा कुल ३० लाख रुपैयाँको लागतमा सडक मर्मत गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए। जसमा माङसेबुङको १५ लाख, फाकफोकथुमको सात लाख र मिक्लाजुङको आठ लाख रुपैयाँ साझेदारी रहेको छ।

“विगतका वर्षहरूमा माङसेबुङ गाउँपालिकाले एकल लगानीमा सडक मर्मतसम्भार गर्दै आएको थियो,” अध्यक्ष राईले भने, “यस वर्ष तीन पालिकाको साझेदारीमा काम गर्दा आर्थिक व्ययभार कम परेको छ र काम पनि प्रभावकारी भएको छ।”

फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालका अनुसार झापाको दमक क्षेत्रबाट पालिका पुग्ने मुख्य सडक नै दमक–चिसोपानी भएकाले मर्मतमा साझेदारी गरिएको हो। यस्तै, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले क्षतिग्रस्त सडक समयमै मर्मत गरी नियमित रूपमा सञ्चालनयोग्य बनाइएको बताए।

सडक मर्मत भएसँगै झापाको दमकबाट इलामका माङसेबुङ र फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिकाका साथै पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकाका बासिन्दालाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा ठूलो राहत मिलेको छ।

३४ वर्षमा साढे ५ किलोमिटर मात्रै कालोपत्रे

वि.सं. २०४९ सालमा निर्माण सुरु गरिएको यो सडक ३४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा बन्न सकेको छैन। झापा, इलाम र पाँचथरलाई जोड्ने यो महत्त्वपूर्ण ३३ किलोमिटर सडकको ट्रयाक खुला भए पनि कालोपत्रेको काम भने निकै सुस्त छ।

झापाको दमकस्थित जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्मको ६.२९ किलोमिटर सडक कालोपत्रेका लागि आठ वर्षअघि सम्झौता भएको थियो। तर, हालसम्म ५.२९ किलोमिटर मात्र कालोपत्रे भएको छ भने १ किलोमिटर अझै अधुरै छ।

उक्त खण्ड कालोपत्रे गर्न २०७५ साल साउन २९ गते ३० महिनाभित्र काम सक्ने गरी ‘महालक्ष्मी–किरातेश्वर जेभी’ले २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर चौथो पटक थपिएको म्याद (२०८० असार मसान्त) सकिँदा पनि काम पूर्ण हुन सकेको छैन। सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक जरिवाना तिरेर काम गरिरहेको छ।

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

;