
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ।
असार ४ गते चुम्लुङको संघीय कार्यालय ललितपुरमा आयोजित विशेष कार्यक्रममा साम्बा, येबा, येमा, फेदाङमा, युमा, येत्छामलगायत पेलिफाङ्साम्हरूलाई एउटै छातामुनि जोड्ने उद्देश्यले “कियाचु-पेलिफाङ्साम् सङ्जुम्भो तदर्थ समिति” घोषणा गरिएको हो।
नवनिर्मित तदर्थ समितिको संयोजकमा संखुवासभाका साम्बा नविन थक्लुङ, सह-संयोजकमा ताप्लेजुङकी युमा कल्पना माबोहाङ, सदस्य-सचिवमा तेह्रथुमका या-साम्बा मानबहादुर पाहिम र कोषाध्यक्षमा धनकुटाकी युमा आस्था चेम्जोङ रहेका छन्। त्यस्तै सदस्यहरूमा तेह्रथुमका युमा-साम्बा रनबहादुर कुरुम्बाङ र पाँचथरका येबा गणेश आङ्देम्बे चयन भएका छन् भने ताप्लेजुङका साम्बा आइतबहादुर सेरेङ चोङबाङलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।
पेलिफाङ्साम् अक्षयकोष र स्वास्थ्य सुरक्षाको पहल
कियाचुका अनुसार पेलिफाङ्साम्हरू संस्कार सम्पन्न गराउने व्यक्ति मात्र नभई याक्थुङ सभ्यताका जीवित ज्ञान-भण्डार हुन्। उनीहरूको ज्ञान, श्रम र जीवनभरको सामुदायिक सेवाको कदर गर्दै बिरामी पर्दा सहयोग पुर्याउन र आकस्मिक उपचारका लागि पेलिफाङ्साम् अक्षयकोष स्थापना गरिने भएको छ।
साथै, स्थानीय, वडा र पालिका सरकारसँग कम्तीमा वर्षमा एकपटक पेलिफाङ्साम्हरूको परम्परागत तथा अनुष्ठानिक पोसाक, आवश्यक सामग्री र सम्मानजनक सेवा-सुविधाका लागि बजेट विनियोजन गर्न माग गर्ने निर्णय गरिएको छ।
मुन्धुमको अभिलेखीकरण र विश्वव्यापी विस्तार
मौखिक रूपमा रहेको मुन्धुमी ज्ञानलाई लिखित र डिजिटल रूपमा अभिलेखीकरण गर्ने, अनुसन्धान तथा प्रशिक्षणमार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान सञ्चालन गरिने बताइएको छ।
आगामी केही महिनाभित्र नेपालका विभिन्न भूगोलका साथै विश्वभरि रहेका याक्थुङ पेलिफाङ्साम्हरूलाई जोडेर यस संगठनलाई विश्वव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ। यो समिति कियाचुको एक विषयगत समितिका रूपमा सक्रिय रहनेछ।
कार्यक्रममा कियाचुका संघीय सदस्य तथा लिम्बू सांस्कृतिक परिषद्का संघीय अध्यक्ष सागर केरुङले पेलिफाङ्साम् बचाउनु भनेको मुन्धुम र आफ्ना पुर्खाको अस्तित्व बचाउनु रहेको बताउँदै यस ऐतिहासिक अभियानमा पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।