दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा भएको हो।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले असोज ९ गते एक संक्षिप्त कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन गरेका छन्। अघिल्लो जनप्रतिनिधिको कार्यकाल (२०७४–२०७९) मा भवन निर्माण हुन नसकेपछि अध्यक्ष राईले साविक तोपगाछी गाविसको केन्द्रमै प्रशासनिक भवन बनाउने चुनावी प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धताअनुसार सर्वदलीय तथा सर्वपक्षीय सहमति जुटाएर भवन निर्माण अघि बढाइएको थियो।
भवन उद्घाटन गर्दै अध्यक्ष राईले नयाँ संरचना केवल कार्यालय सञ्चालनका लागि मात्र नभई नागरिकलाई छिटो, छरितो, पारदर्शी र सहज सेवा प्रवाह गर्ने मुख्य आधार भएको बताए। उनले भवन निर्माण हुनु आफैँमा उपलब्धि भए पनि यसको वास्तविक औचित्य नागरिकले पाउने सेवाको गुणस्तरमा देखिनुपर्नेमा जोड दिए।
२६ कोठा र चार तलाको आधुनिक भवन

इन्जिनियर सागर यादवका अनुसार निर्धारित प्राविधिक मापदण्डअनुसार निर्मित चार तले भवनमा कुल २६ वटा कोठाहरू रहेका छन्। जसअन्तर्गत भुइँ, पहिलो र दोस्रो तलामा ८–८ वटा कोठा र माथिल्लो तलामा सभाहलसहित २ वटा कोठा रहेका छन्।

प्रशासनिक भवन निर्माणका लागि रु. ९ करोड ३८ लाख ७४ हजारको लागत अनुमान गरिएकोमा धनकुटाको ‘सारा सृष्टि निर्माण सेवा प्रालि’सँग रु. ६ करोड १ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको थियो। सो रकममा सङ्घीय सरकारको ६० प्रतिशत र कमल गाउँपालिकाको ४० प्रतिशत लागत सहभागिता रहेको छ। हालसम्म भवन निर्माणमा रु. ५ करोड ५० लाख ६८ हजार भुक्तानी भइसकेको पालिकाले जनाएको छ।


एउटै छानामुनिबाट सहज सेवा
नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका विभिन्न शाखा र सेवाहरू एउटै केन्द्रबाट प्रवाह हुनेछन्, जसले गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै कार्यसम्पादन थप व्यवस्थित हुने प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडा नं. २ का अध्यक्ष अशोक सुब्बा, रास्वपाका नेता केदार चापागाइँ, र पूर्वउपाध्यक्ष वेनु शिवाकोटी लगायतले मन्तव्य राख्दै नयाँ भवनले गाउँपालिकाको शान बढाएको र पुराना समस्याहरू हल भएको बताए।
तीन मुख्य प्रतिबद्धता पूरा
प्रशासनिक भवन निर्माण सम्पन्न हुनु, तोपगाछीस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कमल नगर अस्पताल सञ्चालनमा ल्याउनु र गाउँपालिकालाई बालमैत्री घोषणा गर्नुलाई अध्यक्ष राईले पदभार ग्रहण गर्दा लिएका तीन मुख्य प्रमुख प्रतिबद्धता पूरा भएको रूपमा हेरिएको छ।