झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ।
सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले संयुक्त रूपमा लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो।
जिल्ला समितिका अनुसार यस पटक वितरण गरिएको लालपुर्जा अन्तर्गत कुल १ बिघा ६ कट्ठा ६ धुर जग्गा २६ परिवारको नाममा औपचारिक रूपमा कायम गरिएको छ। लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी प्रमाण नहुँदा बैंकिङ कारोबार, अंशबण्डा र राज्यबाट पाउने सेवाबाट वञ्चित हुँदै आएका परिवारले अब जग्गाको कानुनी स्वामित्व पाएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले नेपाल सरकारले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँका अनुसार बुद्धशान्ति गाउँपालिकामा मात्रै भूमिहीन दलित परिवार ३९ र भूमिहीन सुकुम्बासी परिवार १४८ को लगत संकलन भएको छ र उनीहरूको प्रमाणीकरण तथा जग्गा नापजाँचको कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
“यो पहिलो चरण हो। यस चरणमा सरकारी, ऐलानी वा पर्ति जग्गामा घरटहरा बनाएर कम्तीमा १० वर्षदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीलाई मात्रै व्यवस्थित गरिएको हो,” प्रजिअ पोखरेलले भन्नुभयो, “भूमिहीन दलित र सुकुम्बासीको सम्पूर्ण प्रमाणीकरण प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा उनीहरूलाई पनि लालपुर्जा वितरण गरिनेछ।
“भूमि समस्या समाधान आयोगले अव्यवस्थित बसोबासीलाई उनीहरूले भोगचलन गरिरहेको जग्गाको अधिकतम १० धुरदेखि १ कट्ठासम्मको क्षेत्रफललाई नियमानुसार राजस्व लिएर वैधानिकता दिने व्यवस्था गरेको छ भने भूमिहीनलाई सरकारले नै जग्गा खरिद गरेर वा सरकारी जग्गाबाट उपलब्ध गराउने नीति लिएको छ।
जिल्ला समितिले झापाका १५ वटै पालिकामा तथ्यांक संकलन र प्रमाणीकरणको काम जारी रहेको जनाएको छ।