काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक उद्घाटन समारोह हुने जानकारी गराएको हो।
नेपाली कांग्रेसका अनुसार १५औँ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशनहरू सम्पन्न भइसकेका छन्। हाल प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न हुने क्रममा रहेका छन्।
यसैबीच, देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण सिर्जित असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको निर्वाचन समिति तथा तहगत कार्यसमितिहरूले जनाएका छन्।
विभिन्न क्षेत्रमा मौसमका कारण महाधिवेशन प्रतिनिधि चयनको कार्य प्रभावित बनेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज १८ गते दिउँसो २:०० बजे खुलामञ्चमा उद्घाटन समारोह राखिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
