ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ ।
परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष समारोहमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा लिम्बू सांस्कृतिक परिषद्का संस्थापक अध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यतामा स्मारिकाको औपचारिक विमोचन गरिनेछ ।
समारोह बिहान ११:५९ बजेदेखि अपराह्न २:५९ बजेसम्म सञ्चालन हुनेछ । वि.सं. २०६१ सालमा स्थापना भएको परिषद्ले आफ्नो एक पुस्ते संस्थागत यात्राको क्रममा आर्जित ज्ञान, अनुभव र अनुसन्धानलाई अभिलेखीकरण गर्ने उद्देश्यले यो जर्नल प्रकाशन गरेको हो ।
३५० पृष्ठको प्राज्ञिक दस्तावेजकरिब ३५० पृष्ठ लामो यस जर्नलमा याक्थुङ-लिम्बू समुदायको भाषा, साहित्य, कला, मुन्धुम, दर्शन, इतिहास, शिक्षा र चलचित्रसँग सम्बन्धित अनुसन्धानात्मक तथा वैचारिक लेखहरू समेटिएका छन्।जर्नलमा डा. कमल तिगेला, डा. मधुराज केरुङ, प्रो. कर्णहाङ ताम्लिङ, प्राज्ञ यासेली योङहाङ, प्राज्ञ हरिचन्द्र लावती, याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा ‘पापो’, लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङबा, मुन्धुमविद् ऐत खजुमलगायत २० भन्दा बढी विद्वान तथा अनुसन्धानकर्ताका लेख समावेश छन् ।
स्मारिकाको सम्पादन सागर केरुङ, बसन्ता सम्बाहाङफे, कञ्चन थलङ, डिआर हाङसरुम्बा र कृष्णराज थलङले गरेका छन्। यसको आवरण सृजना चलचित्रकर्मी खगेन्द्र पन्धाक लिम्बूले र डिजाइन बिबस हेल्लोक लिम्बूले गरेका हुन् ।
प्रकाशन यालुङ प्रिन्टर्स, ताहाचलले गरेको हो।सांस्कृतिक संविधानको आधारपरिषद्ले ‘थिम्-साक्थिम्’ लाई केवल स्मारिका मात्र नभई याक्थुङ समुदायको सांस्कृतिक संविधान निर्माणका लागि आवश्यक बौद्धिक आधारका रूपमा लिएको जनाएको छ ।
परिषद्का संघीय अध्यक्ष सागर केरुङले भने, “एक पुस्ताको संस्थागत यात्रालाई एउटा दस्तावेजमा समेट्नु विगतका श्रम र संघर्षप्रतिको सम्मान मात्र होइन, वर्तमानप्रतिको बौद्धिक जिम्मेवारी र भविष्यप्रतिको सांस्कृतिक उत्तरदायित्व पनि हो।
“विमोचन समारोहमा पुस्तक सार्वजनिकसँगै केलाःङ, पालाम, यालाङ, गायन तथा नृत्यलगायत याक्थुङ सांस्कृतिक प्रस्तुतिहरू समेत रहने आयोजकले जनाएको छ। कार्यक्रममा परिषद्का ललितपुर, भक्तपुर र काठमाडौं शाखा सह-आयोजक रहनेछन्।