‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

,   लिम्बुवान न्युज
                       

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ ।

धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा याक्थुङ (लिम्बू) बुद्धिजीवी, इतिहासविद्, अनुसन्धाता तथा सरोकारवालाहरूले विभिन्न आठवटा खोजमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

पूर्व प्रदेश प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता रकम चेम्जोङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा र उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जेन्टल लाओतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पहिलो दिन चार कार्यपत्र प्रस्तुत

सम्मेलनको पहिलो दिन विजयपुर दरबार परिसरको संरक्षण, विजयपुरकी महारानी थाङ्सामाको ऐतिहासिक भूमिका, दरबार परिसरमाथिको सांस्कृतिक अतिक्रमण तथा फेदाप–मोरङदेखि विजयपुरसम्मको ऐतिहासिक विकासक्रमबारे चारवटा कार्यपत्रहरू प्रस्तुत गरिएका छन् ।

पहिलो दिन प्रस्तुत भएका कार्यपत्रहरू:

  • विजयपुर दरबार परिसरको संरक्षणका लागि सङ्घर्ष र भावी योजना: सङ्घर्ष समितिका प्रवक्ता अमित थेबे

  • मोरङ विजयपुरकी महारानी थाङ्सामा (ऐतिहासिक परिचय, राजनीतिक भूमिका र सामाजिक योगदान): लेक्चरर ताजुब लिम्बू

  • सांस्कृतिक अतिक्रमणमा लिम्बुवानको विजयपुर दरबार परिसर (ऐतिहासिक पहिचान र स्वामित्वमाथि चुनौती): डा. रमेश इजम

  • फेदाप–मोरङदेखि विजयपुरसम्मको ऐतिहासिक विकासक्रम: डा. कमल तिगेला

दोस्रो दिनको कार्यसूची र प्रस्तुतिहरू

सम्मेलनको दोस्रो दिन पनि चारवटा महत्त्वपूर्ण कार्यपत्रमाथि छलफल र टिप्पणी हुने आयोजकले जनाएको छ ।

  • मदन पुरस्कार विजेता एवम् पूर्व प्रशासक भगिराज इङ्नामले ‘फेदाप–विजयपुरका अन्तिम राजा बुद्धिकर्ण (लिम्बू) र लिम्बुवान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सत्रको अध्यक्षता उपप्राध्यापक हर्क इजमले गर्नेछन् भने वरिष्ठ साहित्यकार बम देवानले टिप्पणी गर्नेछन् ।

  • अनुसन्धाता भीमा खजुमले ‘चौबिस मिक्लुक थुम र विजयपुर’ विषयमा कार्यपत्र पेस गर्नेछन् । यसमाथि लीला तुम्साले टिप्पणी गर्नेछन् भने डा. योगेन्द्र पालुङ्वाले अध्यक्षता गर्नेछन् ।

  • आदिवासी अभियन्ता नन्द कन्दङ्वाले ‘आदिवासी लिम्बूहरूको भूमिभित्र विजयपुर’ कार्यपत्र प्रस्तुत गर्नेछन्, जसमाथि वरिष्ठ पत्रकार भवानी बरालले टिप्पणी गर्नेछन् ।

  • प्राज्ञ दिलेन्द्र कुरुम्वाङले ‘लिम्बुवानको ऐतिहासिक तहसिल राजधानी विजयपुर’ शीर्षकमा अन्तिम कार्यपत्र प्रस्तुत गर्नेछन् भने यस कार्यपत्रमाथि नन्द कन्दङ्वाले टिप्पणी गर्नेछन् ।

विजयपुर घोषणापत्र जारी गरिने

सम्मेलनमा प्रस्तुत कार्यपत्र, सहभागीहरूबीचको छलफल र गहन विमर्शका आधारमा अन्तिम दिन ‘विजयपुर घोषणापत्र’ जारी गरिनेछ ।

विजयपुर दरबार परिसरबारे याक्थुङ समुदायको साझा अवधारणा निर्माण गर्न यस सम्मेलनले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिका अध्यक्ष तीर्थ मादेम्बाले बताए ।

यसैगरी, सम्मेलनको समापन समारोहमा इतिहास लेखन तथा अनुसन्धानमा योगदान पुर्‍याएबापत लेखक भगीराज इङ्नामलाई सम्मान गरिने कार्यक्रम समेत रहेको सङ्घर्ष समितिका सचिव सन्तोष कुरुम्वाङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

;