ओ ! मेरो प्रिय कवि

,   लिम्बुवान न्युज
                       

कविता

                       सुन्दर कुरूप

 

दरबारका पाखुराभरि

खोपिएका छन् जँगबहादुरको नयाँ ट्याटु

शासकहरुको नयाँ कोटको खल्तीबाट

आइरहेछ रगतको आलो गन्ध

इँटाभट्टीको चिम्नीबाट उडिरहेछ

उही बुढो मजदुर धुवाँ

सबैभन्दा ढिलो घाम अस्ताउने

मालिकको कारखानाभित्र

आत्महत्या गरिरहेछ भोकहरुले

इतिहासको निसासिदो पानाभित्र

बडो मुस्किलले सास फेरिरहेछन्

केही अक्षर

साँझमा उम्रिएका जिन्दगी

टुक्राटुक्रा सडकको ऐना हेरेर

टाँसिरहेछ अनुहारमा छरपस्ट आफ्ना नाक, मुख र आँखाहरु

ओ, मेरो प्रिय कवि !

तिमी चै किन चुपचाप छौ

यतिखेर ?

चोक, हाटबजार,

सरकारी कार्यलयछेउ

सिपाही बोकेर उभिरहेछ बन्दुक

न्यायालयछेउ उभिएर बेफिक्री हाँसिरहेछ अपराधी

न्यायाधीश छिनछिनमा फेरिरहेछ चस्माको पावर

आशीर्वादमा तरबार बाँडिरहेछन् धर्मगुरु

पानीलाई बाफ बनाएर बेचिरहेछ उत्तरआधुनिक व्यापारी

मसाज सेन्टरबाट तप्प-तप्त चुहिरहेछ वीर्यको अट्टहास

निरीह आँखाहरू टेकेर हिँडिरहेछ सरकारी गल्ली

जङ्गल हिँडिरहेछ विश्वविद्यालय

खित्का छोडेर हाँसिरहेछ श्रीपेच सत्ता

बगर हिँडिरहेछ नदीहरु

ओ, मेरो प्रिय कवि !

तिमी चै कहाँ

चुपचाप हिँडिरहेछौ यतिखेर

कि, आफूभित्रको कविको हत्या गरेर

पखाली रहेछौ कलममा टाँसिएका रगतका छिर्काहरु

 

हेरेर आनन्दित

हुनलाई त धेरै सुन्दर चिजहरु छन् यो देशमा

जस्तो अग्ला/अग्ला हिमचुली

मनमोहक पहाडी दृश्य

गुराँसको रातो सौन्दर्य

नदी, झरना, तालतलैया

रङ्गीबिरङ्गी फूल

चराचुरुङ्गीको कलात्मक नृत्य,

बेसीका फाँटहरु

देउराली, चौतारी

समग्रमा एउटा सुन्दर देश

तर जब निस्कन्छौ यात्रामा

रुखका पात/पातमा अल्झिएका

निरीह मानिसका आँसुहरुले

सोध्ने छ तिम्रो कविताको ठेगाना

वृद्धघरहरुमा भोकले मुर्झारहेका पेटहरुले

छाम्नेछ तिम्रो कविताको छाती

जोडजोडले चिच्याउनलाई

माग्ने छ तिम्रो कविताको आवाज

ओ ! मेरो प्रिय कवि

यो पृथ्वीमा कसैले पनि चुपचाप बस्न

नसिकोस् तिम्रो कविताबाट !

(कान्तिपुर अनलाइन संस्करणबाट)

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;