प्रजातान्त्रीक आन्दोलनका योद्धा दुलालको स्मृतीमा पत्रकारिता पुरस्कार

 लिम्बुवान न्युज
                       

झापा । प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको हो ।

दुलाल परिवार र नातीनातीनाको तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष कृषि, पर्यटन, शिक्षा लगायतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गर्ने पत्रकारलाई प्रदान गर्ने गरी राम प्रसाद दुलाल (जिल्ला बा) स्मृती पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् ।

प्रत्येक वर्षको दशैं र तिहारको विचमा वितरण गर्ने सो पुरस्कारको राशि २० हजार रुपयाँ नगद रहने र इलामलाई आधार बनाएर इलाम भित्र र बाहिर रहेका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने चम्लागाईँले जानकारी दिए । पुरस्कारको व्यवस्थापन तथा संयोजन नेपाल प्रेस युनियन इलामले गर्ने जनाइएको छ । इलाममा नेपाल पत्रकार महासंघले स्थापना गरेको आशिष स्मृती पत्रकारिता पुरस्कार प्रत्येक वर्षको बैशाख १ गते प्रदान गरिने गरेको छ । पुरस्कार घोषणाले जिल्लामा बसेर पत्रकारीता गर्ने पत्रकारहरुलाई हौसला थपेको युनियनकी जिल्ला अध्यक्ष सविता पाण्डेले बताइन् ।

२०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका प्रजातान्त्रिक योद्धा दुलालले नेपाली कांग्रेसको इलाम जिल्लाको सभापतिको भुमिकामा समेत काम गरेको इतिहास छ । उनकै स्मृतिमा उनका छोराछोरी र नातानातिनाहरुले पुरस्कारका लागि अक्षयकोष खडा गरेर बर्षेनी पत्रकारलाई सम्मान गर्न लागेका हुन् ।
युनियनकी इलाम अध्यक्ष पाण्डेको सभापतित्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाईले पत्रकारिता क्षेत्रमा अहिले पनि संकट रहेको बताए । चम्लागाई रामप्रसाद दुलालकी काइली छोरी चन्द्रकला चम्लागाईका छोरा हुन् । उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाम्राकुरा डटकमका संस्थापक रहेका चम्लागाई पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । उनकै अगुवाइमा पुरस्कार कोष स्थापना भएको हो । आगामी दिनमा रामप्रसादको स्मृतिमा प्रतिष्ठान नै खडा गरेर विभिन्न सामाजिक कामहरु गर्ने योजना परिवारको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न १ का सदस्य तोयानाथ भट्टराई, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, अग्रज पत्रकार प्रभाकर प्रधान, जीवन शर्मा, नेपाल बन पैदावार व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा युनियनलाई निरन्तर सहयोग गर्ने नेपाल बन पैदावार व्यवसायी संघलाई सम्मान गरिएको थियो ।

२००७ सालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनदेखि राजनीतिक आन्दोलन साथै सामाजिक, शैक्षिक, कृषि क्षेत्रको विकासमा अनवरत खटिएका राम प्रसाद दुलाल इलाममा ‘जिल्ला बा’भनेर परिचित थिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङ, पाका नेता तोयानाथ भट्टराईलगायतसँग सहकार्य गर्दै प्रजातन्त्र स्थापना र बहुदलीय व्यवस्थाको माग साथै ०३६ र ०४६ सालको आन्दोलनमा क्रियाशील थिए ।

०३६ सालमा बहुदल प्रचार प्रसार समितिका संयोजक भएका उनी आधिकारिक प्रमाण नभए पनि २०२१–०२२ सालमा नेपाली कांग्रेस इलाम सभापति भएको बताइन्छ ।
रामप्रसादका जेठा छोरा जीवन प्रसाद दुलाल उहाँ कांग्रेस पार्टीमा मात्र नभइ समाजसेवा, विकास निर्माण, कृषि र शिक्षाको प्रवद्र्धनमा पनि क्रियाशील हुनुभएको स्मरण सुनाउँछन् ।

रामप्रसाद राजनीतिसँगै कृषिको विकास र प्रवद्र्धनमा पनि उत्तिकै सक्रिय थिए । कृषिलाई व्यवसायीकरण गर्नुपर्छ भनेर निरन्तर क्रियाशील थिए । चिया, छुर्पीको उत्पादनमा पनि पहल गरेका थिए । इलाममा शिक्षाको विकास गर्न पनि उनको उल्लेख्य योगदान रहेको बताइन्छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...