रास्वपा सभापति लामिछाने पक्राउ

,   लिम्बुवान न्युज
                       

ललितपुर, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट सभापति लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
सभापति लामिछानेलाई आजै साँझ स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की पोखरा लैजाने तयारी गरेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिएका थिए ।
सहकारीको रकम ग्यालेक्सी टीभीमा लगेर अपचलन गरेको तथ्य खुलेपछि उनीहरुले लामिछाने सहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले बताए । यद्यपि, त्यसबेला अनुसन्धान अघि बढेको थिएन ।
त्यहीबीच प्रतिनिधिसभामा नेपाली कांग्रेसले सहकारी ठगीको मामलामा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखिरह्यो । लामो गतिरोधपछि एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भयो । समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझायो ।
प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । तर, लामिछाने नेतृत्वको रास्वपाले भने प्रतिवेदनले उनलाई ‘क्लीन चिट’ दिएको दाबी गरेको थियो ।
प्रहरीले भने प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा ‘जरुरी पक्राउ पुर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।
जोशीको परिवारले सर्वोच्च अदालतमा पक्राउ विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिएको थियो । अदालतले १६ असोजमा उनलाई गैरकानूनी हिरासतमा राखेको भन्न नमिल्ने ठहर ग¥यो । यद्यपि, दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको थियो ।
तर, कास्की प्रहरीले जोशीलाई छाडेन । ग्यालेक्सी टीभीबाट रवि बाहिरिनुअघि नै छविलालले गोर्खा मिडिया नेटवर्क छाडिसकेका थिए । सहकारीको रकम आएका बेला लामिछाने पनि नेटवर्कमा सञ्चालक रहेको भन्दै संसदीय समितिको प्रतिवेदन समेतलाई आधार मानेर प्रहरीले पूरक अभियोग लैजाने तयारीसहित रविलाई पक्राउ गरेको हो ।
लामिछाने ‘स्वेट शेयर’का रुपमा १५ प्रतिशत शेयर लिंदै २०७७ सालमा सञ्चालकका रूपमा गोर्खा मिडिया नेटवर्कमा प्रवेश गरेका थिए । तर, संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उनले लिएको भनिएको स्वेट शेयरमाथि पनि प्रश्न उठाइएको छ ।
‘‘ रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएतापनि प्रथमः स्वेट शेयर सम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरुका बीचमा एकापसमा श्वेट शेयर लिने–दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिंदैन’, प्रतिवेदनमा भनिएको छ ।
लामिछानेले चुनाव लड्ने भन्दै १ असार २०७० मा गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभी छाडेका थिए । टिभीका मुख्य सञ्चालक एवं सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई हालसम्म फरार छन् । उनी विरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ । उनी मलेसियामा रहेको आशंका छ । यद्यपि, हालसम्म पक्राउ परेका छैनन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;