
दमक, १२ कार्तिक । झापा, दमक नगरपालिका वडा न.९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको शव एक हप्तामा परिवारले बुझेका छन् । सोमबार मध्यान्ह १२ बजे शवको दमक अस्पतालमा पोस्टमार्टम गरि शवलाई दमक नगरपालिकाको बाटो हुँदै इलाका प्रहरी कार्यालय तर्फबाट आफ्नो घरमा पुराई कन्काई माईमा आजै अन्त्येष्टि गरिएको छ ।
हत्या संलग्नमा हालसम्म तीन जना पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । हत्या प्रकरणमा जोडिएका संखुवासभा स्थायी ठेगाना भई हाल झापाको दमक– ३ बस्ने गणेश दर्जी पक्राउ परेसँगै तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
निरौलाको हत्यामा संलग्न भनिएका दर्जीलाई शनिबार काकड्भिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निरौलामाथि मुक्का प्रहार गर्ने समूहका राजु भनिने शेरबहादुर लिम्बू र अन्य भने पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय झापाले घटनाको साता दिन पुग्दा पहिलोपटक सो घटनाबारे सार्वजनिक गरेको हो ।
प्रहरीले पत्रकारहरुलाई उपलब्ध गराएको विवरणमा पक्राउ परेकाको सूचीमा यस अघि निरौलालाई अस्पतालसम्म लिएर आएका तर घटनासंग जोडिएका मोरङ, उर्लाबारीका प्रकाश कार्की र ध्रुब गौतम समेत हुन् । उनीहरु घटनाको दिननै मृतकलाई दमकस्थित आम्दा अस्पताल ल्याउने क्रममा पक्राउ परेका थिए । उनीहरु विरुद्ध समेत कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी छ ।
मृतककी श्रीमती कृष्णमायाले उनीहरुसहित दमक–८ का बुद्धिमान थापा, सोहि वडाका नम चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर लिम्बू र इटहरीका डेविट घलेलाई समेत किटानी जाहेरी दिएपनि अझै पक्राउ पर्न सकेका छैनन् ।
घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । जिल्ला अदालत झापाले फरार अभियुक्तहरुको नाममा पक्राउ पुर्जी जारी गरिसकेको जनाइएको छ ।
गत कात्र्तिक ६ गते दिउँसो अन्दाजी ४ बजेर २४ मिनटमा दमक–३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि मावा पुलको बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो ।
निरौलाको हत्यामा किटानी जाहेरी परेका बुद्धिबहादुर थापाको नाम किटानी गर्न नहुने आरोपित पक्षको अडानका कारण हत्या अनुसन्धान प्रभावित भएको नाम नखुलाउने सर्तमा दमकका एक स्थानीयले बताए ।
एक हप्ता अघि दमक ३ को मावा पुल नजिकै जग्गा विवादमा हत्या गरिएका निरौलाको परिवारबाट किटानी जाहेरी परेका थापाका सहोदर भाई एमाले नेता गोविन्द थापाले हत्याका आरोपीहरुलाई नसमात्न प्रहरीका उच्च अधिकारीहरुलाई दबाब दिइरहेका र आफूहरुलाई समेत त्यस्तै किसिमका दबाबपूर्ण र होच्याउने अभिव्यक्तिहरु दिएका कारण हत्या अनुसन्धान प्रभावित हुने शंका बढेको निरौला परिवारको भनाई छ ।
मंगलबार दिउँसो भएको सो घट्नापछि एमाले नेता थापाले बुधबार निरौला परिवारले किटानी जाहेरी दर्ताका लागि इलाका प्रहरी कार्यालय दमकमा तयारी गरिरहँदा प्रहरी कार्यालयमा पुगेर प्रहरी अधिकारीहरुसँग केही मिनेट कुराकानी गरेका थिए ।
सो क्रममा उनले मृतक निरौलाका दाजु नवराज निरौलालाई डिएसपी र जिल्लास्थित प्रहरी प्रमुखसँग आफ्नै फोनमा बोल्न दिएका थिए । गोविन्द थापा मैंले चिनेको थिएँ तर उहाँ आरोपित बुद्धिमानको भाई हो भन्ने मलाई थाहा थिएन, हाम्र्रै न्यायका लागि कुरा गरिरहेको होला भन्ने सम्भिएँ पछि पो थाहा भयो गोविन्द त बुद्धिमानकै भाई पो रहेछन् ।
त्यसबेला जिल्लाको एसपी साबसँग बोल्नु भनेका थिए, म बोलेको उताबाट पनि बुद्धिमानको र नम चेम्जोङको नाम नहाली जाहेरी दिनु भन्नु भयो ।
म छक्क परें । हामी थानातिरै व्यस्त भइयौं । भरे फेरी गोविन्दले फोनमा बुझ्नु भयो नि कुरा बुद्धिमानको नाम नहाल्नु भन्नु भयो । मैंले प्रतिवाद गरें । मृतकका दाईले यो बताएका छन् ।
उनले बुद्धिमानकै कारण यो सबै घट्ना भएको भन्ने हामीले बुझेका छौं भनेपछि नेता थापाले यस्तो केस (घट्ना) हाम्रा लागि एउटा झिंगो मरे जति पनि होइन । मैंले भनेको मान्ने भए मृतकका छोराछोरीलाई पढ्ने व्यवस्था मिलाउँछौं, उहाँको श्रीमतीलाई पनि कतै सेटल गर्छौंै मान्नु हुन्न भने हामीलाई केही फरक पर्दैन जवाफ फर्काएका थिए ।
नेता थापाकै जग्गा विवादमा निरौलाको ज्यान गएको र थापा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट विश्वास पात्र समेत भएकाले पहुँचका आधारमा यो घट्नालाई सामसुम पार्न सक्ने अडकलबाजी चलिरहेको छ । सोही कारण दिनहुँ प्रहरी प्रशासनलाई दबाब सिर्जना गर्न निरौलाका परिवार, आफन्त र शुभचिन्तकहरु इलाका प्रहरी अगाडी प्रदर्शनमा उत्रिँदै आएका थिए ।
यो घटनामा थप दुई जना अनुसन्धानमा तानिने भएको छ । यसैबीच निरौला हत्या प्रकरणमा यसअघि किटानी जाहेरी परेका ७ जना बाहेक थप दुई जना पनि प्रहरी अनुसन्धानको घेरामा परेको खुलेको छ । घट्नास्थलमा पुगेका दुई वडा गाडी मध्ये एक जना भिमराज केसीको र अर्को गोपाल भण्डारीको गाडी भएको बुझिएको छ । उनीहरु दुवै जना अनुसन्धानको घेरामा परेका र प्रहरीले उनीहरुको खोजी गरिरहेको बताइएको छ ।
निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बु र गणेश दर्जीसहित सो प्रकरणमा किटानी जाहेरी परेका बुद्धिमान थापा, नमकुमार चेम्जोङ र इटहरी बस्ने भनिएका डेबिट घले विरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतले पक्राउ पुर्जि जारी गरेको बताइएको छ ।
चेम्जोङ बाहेकका ६ जना विरुद्ध घट्नाको दोश्रो दिन बुधबार इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता भएको हो भने चेम्जोङका विरुद्ध बिहिबार मात्रै सोही कार्यालयमा पुरक किटानी जाहेरी दर्ता भएको हो ।
इलाका प्रहरी कार्यालय दमक अगाडी हत्यारालाई कारवाही गर, मान्छे मार्न पाइदैन, यस्तो डिएसपी चाहिदैन जस्ता चर्काे रूपमा नाराहरु लागे थिए । शनिबार प्रदर्शनकारीहरुले प्रहरी कार्यालय गेट अगाडीनै टायर बालेर प्रदर्शन गरेका थिए । कार्यलय भित्र डिएसपी निशान थापाले दमक नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्षहरु भिम पौडेल, कुबेर भट्टराई लगायत मृतक परिवारका प्रतिनिधिसँग प्रहरी अनुसन्धानमा भइरहेको प्रगतिबारेमा जानकारी गराएका थिए ।
यद्यपी घटनाको सातौ दिन एकाएक मृतकको शव पोस्मार्टम गरि घर पु¥याई हिन्दु परम्परा अुनसार लासको कन्काई नदीमा अन्त्येष्टि गरिएको छ । यो घटना अझै रहस्यमय रहेको दमकका बुद्धिजिवी तथा समाजसेवीहरु वताउँछन् । दमकका सबै राजनैतिक दल, नागरिक समाज तथा बुद्धिजिवी स्वतस्फूर्त आन्दोलित भई हरेक दिन इलाका प्रहरी कार्यालय दमकमा जम्मा भई मृतकले न्याय पाउनु पर्ने बताउँछन् । ठूला दलहरुले प्रहरी प्रशासनलाई आफ्नो दवावमा पारेर घटनालाई साम्य पार्ने आशंका रहेको स्थानीय बुद्धिजिवीहरुले चिन्ता व्यक्त गरेका छन् ।
Related