दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

,   लिम्बुवान न्युज
                       

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली तथा छठको पावन अवसर पारेर आगामी असोज ३१ गते शनिबारका दिन विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो।

माङ्गगेन्ना पब्लिकेशन र मानुसी मिडिया हाउस, दमकको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम “नसा मुक्त समाज, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालन हुनेछ। झापाको दमक नगरपालिका वडा नं. ७ स्थित पशुहाटको खुला प्राङ्गणमा दिउँसो ४:०० बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

युवा पुस्ता र समाजलाई कुलतमुक्त बनाउने लक्ष्य

नेपालमा कुल लागू औषध प्रयोगकर्तामध्ये ८० प्रतिशतभन्दा बढी १५ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका र वार्षिक ८ देखि १० प्रतिशतका दरले प्रयोगकर्ता थपिइरहेको तथ्याङ्क छ। यसले पारिवारिक विघटन, मानसिक तनाव, अपराधमा वृद्धि र राष्ट्रिय उत्पादकत्वमा गम्भीर असर पुर्‍याइरहेको सन्दर्भमा संगीत र कलाको माध्यमबाट चेतना फैलाउन यो अभियान सुरु गरिएको हो।

अभियानका प्रमुख उद्देश्यहरू निम्न अनुसार रहेका छन्:

  • युवा पुस्तामा सचेतना: संगीत र कलाको प्रभावकारी माध्यमबाट किशोर-किशोरी तथा युवाहरूलाई लागू औषधका घातक असरबारे बुझाउने र कुलतबाट टाढा राख्ने।

  • नसामुक्त समाज निर्माण: जनस्तरसम्म चेतना पुर्‍याएर स्वस्थ र सुरक्षित समाजको निर्माण गर्ने।

  • पुनस्थापना र काउन्सिलिङ: दुव्र्यसनमा फसेका व्यक्तिहरूलाई समाजबाट बहिष्कार गर्नुको सट्टा परामर्श (Counseling) र पुनस्थापना (Rehabilitation) मार्फत सामान्य जीवनमा फर्काउन उत्प्रेरित गर्ने।

  • सकारात्मक सोचको प्रवर्धन: मानसिक तनाव र डिप्रेसनजस्ता समस्यालाई खेलकुद, संगीत र सिर्जनात्मक गतिविधिमार्फत व्यवस्थापन गर्न प्रेरित गर्ने।

  • सामूहिक ऐक्यबद्धता: प्रहरी, विद्यालय, मिडिया, अभिभावक र स्थानीय समुदायलाई एउटै मञ्चमा ल्याएर यो सामाजिक समस्या उन्मूलन गर्ने।

ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति र प्रेरणादायी सन्देश

कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित गायकलगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।

मुख्य आकर्षणहरू:

  • गायक केहेरसिं लिम्बु एण्ड द लुङा ब्यान्डको सांगीतिक प्रस्तुति

  • चर्चित गायक तथा कलाकार अशोक दर्जी

  • कलाकार गंगु क्षेत्री

  • FDC 4K Dance Crew तथा स्थानीय कलाकारहरूद्वारा सचेतनामूलक सांगीतिक एवं नृत्य प्रस्तुति

  • लागू औषधको कुलतबाट मुक्त भई सामान्य जीवनमा फर्किएका व्यक्तिहरूबाट प्रेरणादायी अनुभव तथा सन्देश आदानप्रदान

यसअघि असोज १६ गते आयोजित पत्रकार सम्मेलनमा संयोजक दिलकुमार लावतीको अध्यक्षता, पत्रकार प्रिती राईको सञ्चालन र विक्रम लिम्बुको प्रेस विज्ञप्ति वाचनमा कार्यक्रमको विस्तृत रूपरेखा सार्वजनिक गरिएको थियो। आयोजक संस्थाले स्वस्थ र सचेत समाज निर्माणका लागि यो अभियानमा ऐक्यबद्धता जनाउन तथा सत्य-तथ्य समाचार सम्प्रेषण गरी कार्यक्रम सफल पारिदिन सम्पूर्ण मिडिया र सञ्चारकर्मीहरूसँग हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

;