
ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।

ललितपुरस्थित चुम्लुङहिममा शुक्रबार आयोजित एक विशेष समारोहका बिच किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष एवं लिम्बू सांस्कृतिक परिषद्का संस्थापक अध्यक्ष गोविन्द आङबुङले उक्त जर्नल-स्मारिकाको औपचारिक विमोचन गर्नुभएको हो।
वि.सं. २०६१ मा स्थापना भएको लिम्बू सांस्कृतिक परिषद्ले स्थापनाकालदेखि नै याक्थुङ-लिम्बू समुदायको भाषा, लिपि, साहित्य, कला, संस्कृति, मुन्धुम, दर्शन र संस्कारलगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। संस्थागत यात्राका क्रममा आर्जित ज्ञान, अनुभव र सांस्कृतिक चेतनालाई अभिलेखका रूपमा भावी पुस्तासम्म पुर्याउने उद्देश्यले यो कृति प्रकाशन गरिएको परिषद्ले जनाएको छ।
‘थिम्-साक्थिम्’ मा के छ?
करिब ३५० पृष्ठ रहेको यस जर्नल-स्मारिकामा याक्थुङ भाषा, साहित्य, संस्कृति, इतिहास, मुन्धुम, कला र समाजसँग सम्बन्धित अनुसन्धानात्मक तथा प्राज्ञिक सामग्रीहरू समावेश गरिएका छन्।
-
सम्पादन र डिजाइन: जर्नलको सम्पादन सागर केरुङ, बसन्ता सम्बाहाङफे, कञ्चन थलङ, डिआर हाङसरुम्बा र कृष्णराज थलङले गर्नुभएको हो। आवरण सिर्जना चलचित्रकर्मी खगेन्द्र पन्धाक लिम्बू र डिजाइन विवस हेल्लोक लिम्बूले गर्नुभएको छ।
-
प्रमुख शोधकर्ता तथा लेखकहरू: डा. कमल तिगेला, डा. मधुराज केरुङ, प्रा. कर्णहाङ ताम्लिङ, प्राज्ञ यासेली योङहाङ, प्रा. युन्छोकहाङमा लिम्बू, प्राज्ञ हरिचन्द्र लावती, अर्पिता सुब्बा, बसन्ता सम्बाहाङफे, प्रा. वीरमान लिम्बू ‘प्रनेश’, मलिसा याक्थुङबा, ललितचन्द्र फियाक, लछामी सेर्मा ‘पापो’, भवानी विक्रम सम्बाहाङफे, डिआर हाङसरुम्बा, सागर केरुङ, गोविन्द आङबुङ र ऐत खजुमलगायतका विद्वान् तथा अनुसन्धानकर्ताका लेख-रचनाहरू समेटिएका छन्।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य यासेली योङहाङले ‘थिम्-साक्थिम्’को समग्र समीक्षा प्रस्तुत गर्दै यसले याक्थुङ ज्ञान-परम्परा र सांस्कृतिक विमर्शलाई उजागर गरेको बताउनुभयो।
विगतको अभिलेख र भविष्यका लागि मार्गदर्शन
परिषद्का संघीय अध्यक्ष सागर केरुङका अनुसार जर्नल प्रकाशनको उद्देश्य विगतलाई स्मरण गर्नु मात्र नभई वर्तमानलाई आलोचनात्मक रूपमा बुझ्नु र भावी पुस्ताका लागि सांस्कृतिक मार्गदर्शन निर्माण गर्नु हो।

“एक पुस्ताको संस्थागत यात्रालाई दस्तावेजमा समेट्नु विगतको संघर्ष र योगदानप्रतिको सम्मान मात्र नभएर वर्तमानप्रतिको बौद्धिक जिम्मेवारी र भविष्यप्रतिको दायित्व हो।” — सागर केरुङ, अध्यक्ष, लिम्बू सांस्कृतिक परिषद्
भव्य सांस्कृतिक प्रस्तुति
विमोचन समारोह सांस्कृतिक प्रस्तुतिहरूसहित सम्पन्न भएको थियो। कार्यक्रममा गायिका मनु नेम्बाङ, देशु सुहाङ, दीपक लिम्बू, नोगेन लिम्बू हाङसरुम्बा, गङ्गा फियाक, निरन्ता नेम्बाङ, बिवास नेम्बाङ र मिरा फियाकले लिम्बू भाषाका गीतहरू प्रस्तुत गर्नुभएको थियो।
यसैगरी नैनाकला वनेमले हाक्पारे, भने कर्ण चेम्जोङ, बौद्धमान हुक्पा चोङबाङ र सीता तिगेलालगायतले पालाम प्रस्तुत गर्नुभएको थियो। नायिका लक्ष्मी योङहाङ, आशिस लिम्बू, युगल लिम्बू र सुमी खेवाले सांस्कृतिक नृत्यका साथै विभिन्न समूहहरूले केला:ङ (च्याब्रुङ नृत्य) प्रस्तुत गरेका थिए।
समारोहमा जर्नलमा योगदान पुर्याउने लेखक, सम्पादक, डिजाइनर तथा आवरण रचनाकारहरूलाई धन्यवादपत्र प्रदान गरिएको थियो। लिम्बू सांस्कृतिक परिषद् ललितपुर, भक्तपुर र काठमाडौं सह-आयोजकका रूपमा रहेको उक्त कार्यक्रममा विद्वान्, साहित्यकार, कलाकार, चलचित्रकर्मी र सामाजिक-सांस्कृतिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।