लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइयो

 लिम्बुवान न्युज
                       

पाँचथर, हिलिहाङ् । पाँचथरमा पहिलोपटक लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइएको छ । पान्थर जिल्लाको हिलिहाङ गाउँपालिका ४ स्थित हिलिहाङ दरबार परिसरमा जन्मजयन्ती मनाइएको हो ।

बिहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा दरबार पुनःनिर्माणका लागि शिलान्यास गरेका छन् ।

नेपाल एकीकरणपूर्व लिम्बुवानको अन्तिम राज्यको रूपमा रहेको ‘याङवरक थुम’ पान्थर जिल्लाको हस्तपुर गढीमा रहेको राजा हिलिहाङको दरबारको भग्नावशेष नजिकै ऐतिहासिक दरबारको निर्माण हुन लागेको हो । संघीय सरकार र हिलिहाङ गाउँपालिकाको साझेदारीमा १ करोड ५१ लाख ६८ हजार ३१८ रुपैयाँको लागतमा दरबार निर्माण हुन लागेको हो ।

दरबार निर्माण कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत र हिलिहाङ गाउँपालिकाले ३० प्रतिशत लागत बेहोर्ने साझेदारी भएको छ । दरबार निर्माणको ठेक्का इलामको भगवती बौद्ध जेभीले पाएको छ ।

हिलिहाङ गाउँपालिकाका अनुसार गत असोज १८ गते पालिका र निर्माण कम्पनीबीच आगामी २०८० माघ २५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता भएको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङले अघिल्लो सरकारले थालनी गरेको भौतिक पूर्वाधार विकासको महाअभियानले संस्कृति र इतिहासको संरक्षण र प्रवद्र्धन तथा पर्यटन विकासमा ठूलो मद्दत गर्ने बताए । उनले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जन अभिवृद्धि गर्न सकिने बताए ।

“इतिहासमा सीमित हुन लागेको हिलिहाङ दरबार क्षेत्रलाई पुरातात्विक सम्पदा तथा पर्यटकीय गन्तव्य बनाउन मेरै पहलमा पुरातत्व विभागले उत्खनन गरेपछि यस क्षेत्रमा सरकारको नजर परेको हो”, नेम्वाङले भने, “अब यस क्षेत्रको विकासले बाटो समातेको छ, त्यो रोकिनु हुँदैन ।”

पटक–पटक पृथ्वीनारायण शाह नेतृत्वको नेपाल एकीकरण अभियानसँग हारजित नभएको अवस्थामा राजा हिलिहाङले नेपाल एकीकरणलाई सार्थकता दिन महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्दै पूर्वमन्त्री नेम्वाङले उनको जन्मोत्सवले राष्ट्रिय एकता सम्वद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तत्कालीन लिम्बुवान क्षेत्रका खोजकर्ता प्रा डा नारायण सङ्ग्रौलाले इतिहासमा सीमित भएका सबै विषयमा खोज गर्ने, पुरातात्विक सम्पदाको संरक्षण गर्ने र परम्परागत शैलीमा संरचना निर्माण गर्ने कार्यले इतिहासको जगेर्ना, पर्यटन प्रवद्र्धन र राष्ट्रिय एकताको विकासमा सहयोग गर्ने बताए ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले राजा हिलिहाङको जन्मजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउनु पर्नेमा जोड दिएका छन् उनले थप प्रष्ट पार्दै भने ‘नेपालको वर्तमानस्वरूप निर्माणमा हिलिहाङ राजाको योगदानको सम्मान गर्नुपर्छ ।’

हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनका अनुसार गाउँपालिका स्थापनापछि दरबार क्षेत्रको विकासमा गाउँपालिका र हिलिहाङ फाउण्डेसनले सहकार्य गर्दै आएका छन् । यस क्रममा दरबार क्षेत्रमा सङ्ग्रहालय र खेलमैदान निर्माण सम्पन्न भएको छ । करिब ३ करोडको लागतमा सङ्ग्रहालय निर्माण भएको जनाउँदै हिलिहाङ क्षेत्रको प्रचारका लागि तीन वर्षअघि गाउँपालिकाले महोत्सव सम्पन्न गरेको बताए ।

बन्न लागेकाे दरबारकाे चित्रः दरबार प्यागाेडा शैलीमा निर्माण हुने

हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार फाउण्डेसनले दरबार क्षेत्रमा राजा हिलिहाङको शालिक निर्माण गरेको छ भने हिलिहाङ क्षेत्रको प्रवेशद्वार र प्रवेशद्वारमा शालिक स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ ।

बिहीबार आयोजित कार्यक्रममा राजा हिलिहाङको शालिकमा माल्यार्पण गरिनुका साथै सहभागीले उहाँले शक्ति प्राप्त गर्ने दरबार भग्नावशेषसँगै रहेको शक्तिपीठको दर्शन गरेका थिए ।

कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ, नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ, संघीय लिम्बुवान मञ्च, नेपालकी महासचिव शान्ता योङहाङ लगायतले लिम्बुवान स्वायत्त राज्यको अन्तिम राजा हिलिहाङबारे चर्चा गरेका थिए ।

कार्यक्रममा हिलिहाङ फाउण्डेसनले राजा हिलिहाङको प्रथम मूर्तिकार काठमाडौँका चङ्खे नगरकोटीसहित हिलिहाङ क्षेत्रको विकासमा क्रियाशील स्थानीय युवा सूर्य योङहाङ, विनोद योङहाङ र वसन्त योङहाङलाई सम्मान गरेको थियो ।

विसं १७८३ कात्तिक १८ गते तत्कालीन योङहाङ राजपरिवारमा जन्मिएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेको इतिहास छ । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाइँ गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो । हिलिहाङकी एक चेलीको विवाह तत्कालीन सिक्किमका राजासँग भएको थियो । त्यसैले याङवरक थुमलाई लडाइँमा सिक्किमले सहयोग गरेको बताइन्छ ।

नेपाल एकीकारणका क्रममा लामो समयसम्म युद्ध भएर कुनै पक्ष नहारेको अवस्थामा दुवै पक्षबाट दूरदर्शिता देखाई अन्त्यमा सन्धि सम्झौता भएको इतिहासमा भेट्न सकिन्छ । लडाइँ र सङ्घर्षका बीचमा राजा पृथ्वीनाराणय शाह र हिलिहाङ राजाबीच औपचारिक अनौपचारिक धेरै सन्धि (सम्झौता) भएका थिए ।

सम्झौतामध्ये सबैभन्दा बढी चर्चित वि.सं. १८१४, १८३१ र १८४२ मा भएका सन्धि थिए । सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाहरुबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो । अर्थात् शाहहरु र योङहाङ राजखान्दानी दाजुभाई रहने गरी नेपाल एकीकरणको खाँका कोरेका थिए ।

विशेषतः राजा हिलिहाङले नेपालको एकीकरण अभियानलाई सार्थक बनाउन गरेको मद्दतको सम्मान हुनुपर्ने यहाँका सरोकारवालाको जोड छ । हिलिहाङका सेनापतिको नाम नाम्दीहाङ (काङ्शोरे) थियो । हिलिहाङले ३१ वर्षको उमेरमा वि.सं १८१४ मा शासन हात लिएर वि.सं १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहासमा पाइन्छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...