काठमाडौंमा किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं । किरात राईहरुले कात्तिक २७, २८ र २९ गते काठमाडौंमा ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ गर्ने भएका छन् । राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, कला, साहित्य, इतिहास र पहिचानको संरक्षण एवम् विकास गर्नका लागि खोज–अनुसन्धान गर्ने र विश्वभरि रहेका किरात राईहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् ।

कात्तिक २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मेलनको उद्घाटन गर्नेछन् भने २८ र २९ गते ललितपुरको तिखेदेवलस्थित यलखिममा बन्द–सत्र हुनेछ ।

सम्मेलन सम्पन्न गर्नका लागि किरात राई यायोक्खा तथा किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष दिवस राईको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने ११ वटा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

सम्मेलनमा १८ वटा विदेश शाखा तथा सम्बन्धन संस्थाहरु, २६ वटा किरात राईजन्य भाषिक संस्थाहरु, २ वटा किराया प्रदेश समन्वय समितिहरु, ८ वटा भातृ संस्थाहरु र २३ वटा जिल्ला कार्य समितिहरुबाट तथा अग्रज अभिभावक र विषयविज्ञहरुसहित ३७५ जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सम्मेलनमा राष्ट्रिय जनगणना, किरात इतिहास र राई जाति, किरात राई भाषाहरुको अवस्था, किराती भाषामा आलेखन र लिपि प्रयोग, किरात धर्म र माङखिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियान शीर्षकमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ भने सोबारे व्यापक छलफल गरी निष्कर्षका आधारमा घोषणा–पत्र जारी गरिनेछ ।

सम्मेलनको उद्घाटन समारोहमा प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईसहित मन्त्रीहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वमन्त्रीहरु, संवैधानिक निकायका सदस्यहरु लगायतको उपस्थिति हुनेछ ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, चर्चित गायक राजेश पायल राई, गायिका पार्वती राई, गायक भीषण मुकारुङ, हाँस्य कलाकार फुलन्देकी आमा (उमेश राई), बासुरी वादक नगेन्द्र राई र किरात राई सांस्कृतिक कलाकार संघको विशेष प्रस्तुती हुनेछ ।

सभागृह परिसरमा साकेला सिली प्रस्तुतीका साथै साकेला महोत्सव समेत गरिने आयोजकले जनाएको छ ।

यसअघि २०६७ चैत २७ र २८ गते पहिलो र २०७१ फागुन ९ र १० गते दोस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...