
लिम्बुवानखबर संवाददाता । नेपालमा आज २५ कार्तिक बिहीबारबाट मुलुकभर १२औं राष्ट्रिय जनगणना सुरु हुँदै छ ।
हरेक १०–१० वर्षमा गरिने जनगणना यस वर्ष २५ कार्तिक (आज)बाट सुरु भई ९ मंसिर अर्थात १५ दिनसम्म चल्ने छ । यस वर्षको जनगणनाका लागि नेपाल सरकारले ‘मेरो जनगणना मेरो सहभागिता’ नारा तय गरेको छ ।
केन्द्रीय तथ्यांक विभागको आधिकारिक साइटमा उल्लेख भए अनुसार आज बिहानसम्मको नेपालको जनसंख्या ३ करोड ५ लाख २३ हजार ४८ रहेको छ । यद्यपि जनगणना कार्य सम्पन्न गरी प्राप्त प्रतिवेदनपछि मात्रै नेपालको पछिल्लो आधिकारिक जनसंख्याको तथ्यांक सार्वजनिक हुनेछ ।
तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले आज बिहानबाट क्रमशः राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरुको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । १२औं राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत यसअघि नै पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेकाहरुको पारिवारिक विवरण लगायत व्यक्तिहरु समेतको विवरण संकलन गर्ने कार्य भने आजबाट १५ दिनसम्म हुने विभागले जनाएको छ ।
जनगणनाका क्रममा व्यक्तिगत विवरण संकलनका लागि देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।
पछिल्लो पटक चुचे नक्सा जारी गरेसँगै भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भने अनुमानित आधारमा मात्रै गणना गर्ने विभागको तयारी छ ।
भारतीय पक्षको अनुमति लिने बारे कुटनीतिक पहल भइरहेको तर गणना गर्न पाइने वा नपाइने बारे स्पष्ट नभएको विभागको भनाइ छ । नेपालमा वि.सं. १९६८ देखि हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । अहिले हुँदै गरेको जनगणना १२औं शृंखला हो ।
Related