मौन अवधि र मतदानमा मिडियाकर्मीका लागि ७ बुँदे अपिल

 लिम्बुवान न्युज
                       


बिर्तामोड, २ मंसीर । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रवार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् ।

मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि तथा मतदानका दिन मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्नेमा सबैको जोड छ ।

झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनलाई विश्वसनीय र व्यवस्थित रुपमा सम्पन्न गर्न आचारसंहिताको पालनामा जोड दिए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने उनले बताए । ज्ञवालीले झापामा निर्वाचन सम्बन्धी सूचनालाई मिडियामा छिटो र सहज रुपमा सम्प्रेषण गर्ने संयन्त्रको विकास गर्ने बताए । उनले मौनअवधिको पूर्ण पालना गरी निर्वाचनलाई सफल बनाउन सबैमा अपिल समेत गरे ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन सम्पन्न गर्न मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले झापामा शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताए । प्रजिअ रिजालले मिडियाकर्मीलाई निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस पास र सवारी साधनको दुरुपयोग हुन नदिन सजग समेत गराए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकारी मधु पोखरेलले आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका बारे प्रष्ट्याउँदै झापामा आचारसंहिताका कार्यान्वयनको अवस्था विगतभन्दा राम्रो रहेको बताए ।

झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाएको बताए । उनले हरेक नागरिक बिना बर्दीका प्रहरी भएकाले निर्वाचन सम्पन्न गर्न मिडिया र आम नागरिकले गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

निर्वाचन कार्यालय झापाका प्रमुख जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको बताए । उनले सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत र कर्मचारीहरु पुगिसकेको बताए । मौन अवधिमा राजनीतिक दल तथा सबै सरोकारवालाले पालना गर्नुपर्ने आचारसंहिता बारे मिडियाले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए । मतदानका लागि प्राथमिकतामा राखिएका लक्षित समुदायका नागरिकले सहज रुपमा मतदान गर्न पाए÷नपाएको अवस्था बुझेर उनीहरुलाई मतदानका लागि सहज वातावरण बनाउन पनि निर्वाचन सम्बद्ध निकायका अधिकारीहरुले मिडियाकर्मीलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छलफलको विषयमाथि प्रष्ट्याएको कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए । छलफलमा पत्रकारहरुको सुझाव समेतलाई मध्यनजर गरी जिल्लामा निर्वाचनमैत्री र मिडियामैत्री वातावरण बनाउन सरोकारवालाले सात बुँदे प्रतिबद्धतासहितको निष्कर्ष जारी गरेका छन् । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

छलफलमा पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, पत्रकारहरु उमाकान्त खनाल, गोपाल काफ्ले, सुब्रत न्यौपाने, लीलाराज झापाली, चिरन घिमिरे, दिपीन राई, बिनोद पाण्डे लगायतले जिज्ञासा र सुझाव राखेका थिए ।

निष्कर्षः
१) निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय, भयरहीत रुपमा सम्पन्न गर्न मौन अवधि र मतदान अवधिमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि मिडिया तथा मिडियाकर्मीले ‘वाच डग’ र सशक्त खबरदारीको कार्य गर्ने ।
२) पत्रकारिताका सिद्धान्त, पेशागत मर्यादा र पत्रकार आचारसंहितालाई आत्मसाथ गरी मौन अवधिको मर्म अनुसारको आचारण गर्न गराउन मिडिया र मिडियाकर्मीले सशक्त भूमिका निर्वाह गर्ने ।
३) निर्वाचनका जिल्लास्थित संयन्त्र र मिडिया–मिडियाकर्मीबीच सहज र छिटो छरितो रुपमा प्रविधिमार्फत सूचना आदानप्रदान गर्ने, निर्वाचनमैत्री र मिडियामैत्री भूमिका निर्वाह गर्ने गराउने ।
४) मतदानका दिन तथा निर्वाचनका प्रक्रियामा प्रेस पास र सवारी साधनको दुरुपयोग हुन नदिने । मिडिया–मिडियाकर्मीको सवारी आवगमनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघ झापाले आवश्यक सहजीकरण गर्ने । पत्रकार महासंघका सदस्यहरुले महासंघको परिचयपत्र बोक्ने, महासंघका सदस्य नभएकाहरुले पत्रकार भएको विवरण खुल्ने महासंघद्वारा प्रमाणित पत्र बोक्ने ।
५) मिडियाकर्मीले तोकिएको अद्यावधिक परिचयपत्र र सवारी साधनका अद्यावधिक भएका कागजपत्र साथमा लिएर हिंड्ने, परिचयपत्र स्पष्ट देखिने गरी गलामा लगाउने ।
६) गोप्य मतदान र निर्वाचन प्रक्रियामा बाधा नपर्ने गरी परिचयपत्र वाहक मिडियाकर्मीले समाचार रिपोर्टिङका लागि मात्र मिडिया यन्त्र (क्यामेरा, मोवाइल, रेडर्कर आदि) प्रयोग गर्ने । बुथ घेरिएको भित्री घेराभन्दा बाहिरबाट मात्र समाचार रिपोर्टिङ गर्ने ।
७) कुनै असहज परिस्थिति आए, समस्या उत्पन्न भए आपसी समन्वयमा समाधान गर्ने ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...