सर्वप्रथम त माथिल्लो मुस्ताङसम्म भ्रमणको आयोजना गरी व्यवस्था गर्नु हुने उर्लाबारीमा अवस्थित श्री सुन्दरफुल सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई धन्यवाद ब्यक्त गर्दछु ।
भ्रमणको नेतृत्व निवर्तमान अध्यक्ष उपेन्द्र कडेलज्यूले गर्नु भएको थियो । यात्रामा सहकारीका उपाध्यक्ष मनकुमारी गुरुङ, ब्यवस्थापक टीका अधिकारी र विशाल पौडेल साथै रबिन कन्दङ्वा, नोबेलकिशोर खनाल, सुरेन्द्र बस्नेत, यशोदा श्रेष्ठ, अमर काफ्ले, सुरेन्द्र लिम्बु, खड्ग श्रेष्ठले, राजनप्रसाद बराल, हरीप्रसाद भन्डारी लगायत हामी २२ सदस्य टोलि थियौ ।
यात्रा २०८१ कार्तिक ४ गते आइतबार बिहान करिब साढे ८ बजे बाट शुरु गर्यौ । बेलाबेलामा भएको जाम र निर्माणाधिन बाटोले यात्रा लम्बिएको थियो । करिब १५ घन्टाको लामो पठ्यार ब्मगतिक यात्रा गर्दै पोखरा पुग्यौ । पहिलो बास पोखराको क्रस बोर्डर गेस्ट हाउसमा भयो । दोस्रो दिन बिहान ८ बजेदेखी पोखराबाट यात्रा शुरु गर्यौ । २ घन्टाको यात्रापछि बाङ्लुङ जिल्लाको कुश्मा नगरपालिकाको कुश्मा बजार पुग्यौ । यो सहर बाङ्लुङ जिल्लाको सदरमुकाम हो । यहि बजारको पश्चिममा कालिगण्डकी नदी छ ।
यो नदी पर्वत र बाग्लुङ जिल्लाको सिमानामा पर्ने नदी रहेछ । यहि नदीमा ब्यवस्थित वन्छीजम्प गर्ने स्टेसन निजी कम्पनीले बनाएको रहेछ । प्रत्येक नागरिकले ८ हजार शुल्क तिरेर मात्र यो वन्छीजम्प गर्न पाईन्छ । सबै दृश्य अवलोकन पछि हाम्रो सो दिनको गन्तव्य जोमसोम तर्फ मोडियौं । कुश्माबाट करिब २ घन्टाको यात्रापछि म्याग्दी जिल्ला प्रबेश गर्यौ । कुश्मादेखि कालीगण्डीको किनारै किनार यात्रा गर्नु पर्ने रहेछ । कालीगण्डी नदीमा सम्भवत नेपालको सबै भन्दा ज्यादा झोङ्गे पुल रहेको हो भन्ने अनुमान गर्न सकिन्छ । झुलुङ्गे पुलको सङ्ख्या गन्दै गर्दा ज्यादा भएर बिर्सिन पुगे । नेपालमा सबै भन्दा अग्लो र लामो झलुङ्गे पुल पनि यहि नदीमा निर्माण गरिएको छ ।
यात्राको क्रममा म्याग्दीको ठूलो बजार र सदरमुकाम बेनीबजार करिब १२ बजे पुग्यौ । यो बजार जिल्लाको ठूलो बजार हो । पोखराबाट बिहान ८ बजेदेखी यात्रा गर्दा साढे ४ बजे म्याग्दीको रुप्से झर्ना आईपुगियो । यो झर्ना हेर्न र फोटो खिच्न मान्छेहरुको घुईचो लाग्ने रहेछ । यो झर्नाले सबैको मन लोभ्याउछ । तर झर्नालाई अझै ब्यवस्थित गर्न नसकेको प्रस्ट देख्न सकिन्छ । पोखराबाट बिहानको ८ बजे यात्रा गर्दा जोमसोम आईपुग्न साझको ७ बजे सम्म लागेको थियो । करिब ११ घन्टाको लामो यात्रा पछि जोमसोम आईपुग्यौ । कालीगन्डकी नदीमा बनाईएको बाटो बेसीमा पर्ने भएकोले चिसोको खासै अनुभुति गर्न सकिएन । कालीगण्डकी नदीको दुबै किनारमा केही कालोपत्रे केही ग्रावल बाटो निर्माण गरिएको छ तर बाटो ब्यवस्थित गर्न अझै धेरै काम रहेको देखिन्छ ।
कार्तिक ६ गते जोमसोमबाट ८ बजे माथिल्लो मुस्ताङ लागियो । कागबेनीसम्म बाटो कालो पत्रे नै छ । कागबेनीमा २०८० साउन २८ गते आएको बाढीपहिरोले घरहरु, बाटो तथा पुलहरुमा निकै क्षती पुर्यायो । बाटो निकै बिग्रेको छ । यात्रा गर्दै गर्दा बाटोमा बुद्धको मुर्तिहरु तथा साना–साना गुम्बाहरु प्रसस्त देखिन्छ । त्यसकारण बुद्ध चै लुम्बिनीमा नभएर मुस्ताङमा जन्मेको हो कि भन्ने आभास दिन्छ । माथिल्लो मुस्ताङ पहाडी मरुभूमि हो । डाडाँकाडाँमा बोटविरुवा हरियो बनस्पति केही देख्न पाईन्न । तर पहिलो यात्रा भएकोले होला बसबाट दायाँबायाँ हेर्दा मन नै लोभ्याउने मनमोहक दृष्य देख्न सकिन्छ ।
कागबेनीबाट उत्तरतिर सबै ग्राबलको बाटो मात्र छ । यस्तो बाटो हुँदा पनि माथिल्लो मुस्ताङसम्म जाने धेरै यात्रुहरु भेटियो । सानो गाडी सबै भन्दा ज्यादा गुडेको भेटियो । ठूलो गाडी अलि कम देखिन्छ । बाईकमा जाने पनि निकै देखिन्थ्यो । बिदेशी बाहेक पैदल यात्रीहरु अन्य देखिएन । बिदेशीहरुमा संस्कृति, माटो तथा समाज बुझ्ने चाहना उट्कट देखिन्छ । माथिल्लो मुस्ताङ लोमान्थाङ करिब १ बजे पुग्यौ । स्नो ल्याण्ड होटेलमा खाना खाएर चीनको सिमानासम्म लाग्यौ ।
प्रहरीको चेकजाँच सकेर करिब साँझका ३ बजे तिर पुग्यौ । सिमाना समुद्र सतहबाट ४६०० मिटरको उचाईमा रहेको छ । यतिको उचाईमा हावा निकै चल्नेरहेछ । सबैले बाक्लो लुगा, बाक्लो टोपी लगाएका थिए । चीनले आफ्नो क्षेत्रमा देखिने गरि आफ्नो भवन बनाएको छ । ब्यवसायको लागि निर्माण गरिएको लोकमार्ग भए पनि एक दिनको अवलोकनबाट व्यवसाय भएको देखिएन । व्यवसायको नाममा त्यहाका स्थानियहरुले टेन्ट टागेर नेपालबाट आउने पर्यटकहरुलाई तिब्बतमा उत्पादन भएको रक्सीका परिकारहरु, चक्लेट, कपडा लगायत बिक्रीवितरण गरेको पाईयो ।
मुस्ताङको राजसंस्था
नेपालीले मुस्ताङ भनेर चिनिने तथा तिब्बती भाषामा लो भनेर चिनिने नेपालको हिमाली भू–भागमा १४औं शताव्दीमा नै राज्य स्थापना भएको थियो । (सुनिल उलक, नेपालखोजः२०८० जेष्ठ १४) नेपाल धेरैजसो जिल्लाहरूको नामाकरण कुनै खोला, स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ । तिब्बतीयन भाषामा मन् भनेको औषधि र थाङ् भनेको चौरबाट मनथाङ हुँदै मुस्ताङ हुन आएको हो भन्ने जनश्रूति रहेको छ । जडिबुटीका हिसावले प्रशिद्ध रहेकोले पनि यस जिल्लाको नामाकरण औषधीकै नामबाट भएको हो भन्ने विश्वास गर्न सकिन्छ ।
जिग्मे दोर्जे त्रान्दुल २०२१ सालमा मुस्ताङका राजा भएपछी
राजा महेन्द्रले मुस्ताङका जनतालाई हिन्दुकरण गर्दै २०२८ सालमा राजा महेन्द्रको शासनकालमा प्रधानमन्त्री कीर्तिनिधि विष्टको समयमा उपल्लो मुस्ताङका कुडाकहरुलाई विष्ट, फाल्चालाई गुरुङ तथा गार्वालाई विश्वकर्मा भनेर लेख्न लगाइयो । (सुनिल उलक, नेपालखोजः२०८० जेष्ठ १४) मुस्ताङमा पाँच वटा गाउँपालिकाहरु छन् । लोमान्थाङ, घरपोझङ, थासाङ, लो–घेकर दामोदरकुण्ड र बारागुङ मुक्ती क्षेत्र गाउँपालिका हुन् । माथिल्लो मुस्ताङ लोमान्थाङ गाउँपालिका भित्र रहेको छ । यहि पालिका भित्र दरबार रहेको छ । २०७२ सालको भुकम्पले दरबारमा क्षती पुर्याएकोले बन्द गरिएको छ । दरबारको संरचना माटो र ढुङ्गाले बनेको छ । सयौ वर्ष पुरानो दरबार जिर्ण बन्दै गएको छ । दरबार निकै भब्य छ । त्यही दरबारबाट मुस्ताङ शासित हुन्थ्यो । यो पालिकामा पशुबध गर्न बन्देज छ । होटेल ब्यवसायीहरुले बाहिरबाट आवश्यक मासु ल्याएर ब्यवसाय गर्छन । यो पालिकामा सबैभन्दा ज्यादा स्तुपाहरु देखिन्छ । हिउद सिजनमा करिब ३ महिना यहाँका मानिसहरु न्यानो स्थानमा अस्थायी बसाई सर्छन । हामी पुगेको दिन रातको समयमा मौसम माईनसमा थियो । त्यसकारण अत्याधिक चिसोको कारण सबैको टाउको दुख्ने समस्याले सताएको थियो ।
नेपाल संवैधानिकरुपमा गणतन्त्र भएपनि मुस्ताङका जनता मुस्ताङे राजा परिवारप्रती आस्था रहेको देखिन्छ । २०७३ पुस १ गते मुस्ताङका राजा जिग्मे परवल विष्टको देहावसान भयो । उहाको श्रीमती सुटुल परबल बिस्ट र छोरा ग्याल्जोङ परवल बिस्ट छन् । (स्थानिय नर्वो वाङ्चु लोबासङको सन्बाद) यो क्षेत्रमा पर्यटकहरुको आगमन भैरहेको राम्रै तथ्यांक छ । मुस्ताङको संस्कृतिले नेपाललाई चिनाईरहेको छ । बिदेशी पर्यटकहरु बिशेष खोज अनुसन्धान तथा अध्ययनको लागि आउने गरेका छन् ।
मुस्ताङको ऐतिहासक गाउँ मार्फा
कार्तिक ७ गते लोमान्थाङ्बाट फर्केपछी एक रात फेरि जोमसोममै बसियो । सोही दिन करिब ६ बजे बिहान मुक्तिनाथको दर्शनको लागि मुक्तिनाथ लाग्यौ । करिब १ घन्टाको यात्रा पछि मुक्तीनाथ पुग्यौ । मुक्तिनाथ समुद्र सतहबाट ३८ सय मिटर उचाईमा भएकोले निकै चिसो छ । मुक्तिनाथ लो–घेकर दामोदरकुन्ड गाउँपालिकामा पर्छ । यो पालिकाको ठुलो बजार रानीपौवा हो । यहि बजारको पुर्वीभागमा मुक्तिनाथको मन्दिर पर्छ । मुक्तिनाथको दर्शन गर्न निकै भक्तजनहरुको संख्या देखिन्थ्यो । धार्मिकरुपले यो मन्दिर निकै चर्चित छ । यो मन्दिरको उत्तर पुर्वमा ठुलो स्तुपा निर्माण गरिएको छ । त्यहाँ पनि दर्शन गर्ने भक्तजनहरु देखिन्थे । दक्षिण पट्टिको बुद्धको खुल्ला मुर्तीको आसपासबाट निलगिरी र धौलागिरी हिमाल प्रष्ट देखिन्छ । करिब ९० प्रतिसत जति लामा गुरुङ्हरुको बसोबास देखिन्छ । हिड्न नसक्ने बिरामीहरुको लागि मन्दिरसम्म पुग्न घोडाहरु प्रयोग गरिन्छ । घोडाको संख्या प्रसस्त देख्न सकिन्थ्यो ।
दर्शनपछि बिहानको खानापछि सिधै मार्फा गाउँ लाग्यौ । मुस्ताङको सबै भन्दा हेर्नै पर्ने र भ्रमण गर्नै पर्ने गाउँ मार्फा हो । मार्फाले थकाली सभ्यतालाई प्रतिनिधित्व गर्छ । यहाँको प्राचिनता तथा संस्कृति अवलोकन गर्न, अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा बिदेशी अनुसन्धाता आउने गरेका छन् । मार्फा हेर्न नेपाल भरीकै पर्यटकहरु आउने गर्छन् । यहाँको चर्चित पेयपदार्थ मार्फा हो । मार्फा रक्सी यहाँको स्थानिय उत्पादन हो । यहाँ भ्रमण गर्ने पर्यटकहरुको रोजाई मार्फा रक्सी र स्याउ हो । यहाँ स्याउ पनि निकै उत्पादन हुने गर्दछ । यहाँको स्याउ मुस्ताङे स्याउले चर्चित छ । यहाको स्याउ निकै रसीलो र स्वादिलो हुन्छ । यहाँ आउने पर्यटकहरुले थकाली पहिरन लाएर फोटो खिच्नेको लर्को लाग्ने गर्छन । थकाली समुदायको मुख्य सभ्यताको केन्द्र हो मार्फा । गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बा छ, जुन मार्फावासीको आस्थाको धरोहर मानिन्छ । यो गुम्बा निर्माणाधीन अवस्थामा छ । यो गुम्बाबाट मार्फामा भएका सबै घरहरु अवलोकन गर्न सकिन्छ । मार्फामा निर्माण भएका घरहरु निकै प्राचीन देखिन्थ्यो । थकालीहरुको परम्परागत घरहरु प्रस्स्त देख्न सकिन्छ ।
भ्रमणको अन्तिम दिन पोखरा हुँदै घर फर्किने क्रममा भ्रमण दलका एक सदस्य स्वास्तिका श्रेष्ठज्यूको विशेष अनुरोधमा साझपख बन्दिपुर पुग्यौ । बन्दीपुर स्थानिय बासिन्दाका अनुसार २ सय वर्ष पुरानो शहर रहेछ । यो शहरमा नेवार समुदायको बाहुल्यता छ । नेवार समुदायले नै यो शहरमा बस्ती बसालेका हुन् भन्ने बुझाई छ । सहरको बिचबाटोमा सवारी साधन प्रयोग गर्न मनाही छ । त्यही भएर पर्यटकहरु निर्धक्क हिड्डुल गर्न सक्छन् । हिउँदो सिजनमा बिदेशी पर्यटकहरुको प्रसस्त आगमन हुन्छ । सानै सहर भए पनि ब्यवस्थित र सफा सहर छ ।
अन्तमा, ज्ञान प्राप्त गर्न या रमाईलो गर्न या फ्रेस हुन, ठाउँहरुको अवलोकन गर्न, अनुभव लिन भ्रमण गर्ने गरिन्छ । चार्ज डार्विनले भ्रमण नगरेको भए चर्चित पुस्तक On the Origin of Species लेखिने थिएन । भ्रमणले ज्ञानको डायरा फराकिलो बनाउछ । त्यसकारण भ्रमण जरुरी छ ।
मुस्ताङ जिल्ला हिमाल पारीको जिल्ला हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यो जिल्लामा १४,४५२ जनसंख्या छ । यो जिल्लाको माथिल्लो भू–भागहरु खासगरी मार्फा उत्तर निकै सुख्खा छ । बोटबिरुवा कहिकतै नभएकोले मरुभूमि जस्तो देखिन्छ । यो जिल्ला सुख्खा जिल्ला पनि हो । बिकट जिल्ला भएकाले पनि यो जिल्लामा कक्षा १२ सम्ममात्र पठनपाठ्नको ब्यवस्था छ । उच्च शिक्षाको लागि यहाँका विद्यार्थीहरु पोखरा या काठमाडौ जाने प्रचलन रहेछ । उच्च शिक्षाको ब्यवस्थापन सरकारले गर्न सकेको छैन । जिल्ला भरी एउटा मात्र संस्थागत विद्यालय धौलागिरी बोर्डिङ स्कुल Private School छ । यहाँ प्राय विद्यालयहरुमा कम विद्यार्थीहरु छन । जीवन निकै कष्टकरपुर्ण छ । सम्पन्न परिवारका बालबच्चाहरु पोखरा या काठमाडौमा बसी पढ्छन । यहाँ राम्रो सडकको मात्र राम्रो ब्यवस्था गर्न सके स्वदेशी तथा बिदेशी पर्यटकहरुको आगमन ठुलो संख्यामा हुने थियो । आय आर्जनको स्रोत वृद्धि हुनको साथै यहाका जनताको समृद्धि हुने थियो । साथै मुस्ताङको संस्कृति सम्रक्षण तथा संवर्धन हुने थियो । यहाँ गुणास्तरीय शिक्षाको आवश्यकता छ । त्यसको ब्यवस्थापन गर्न जरुरी छ । अस्पतालको व्यवस्था गर्न जरुरी छ ।
जोमसोम बजार यहाँको सदरमुकाम भएपनि मेडिकलहरु देख्न मुस्किल छ । सामान्य रोग लाग्दा पनि पोखरासम्म पुर्याउनु पर्ने अवस्था छ । मुस्ताङ्मा मङ्सिरदेखि माघ महिनासम्म अत्यधिक जाडोको कारण विद्यालयहरु बिदा हुने गर्दछ । थोरै जनसंख्या भएर होइन यहाँको आवश्यकता र परिस्थितिलाई समेत ध्यानमा राखेर शैक्षिकसत्रको क्यालेन्डर बनाउन जरुरी छ ।
(लेखकः– पहिचानवादी मोर्चाको संघीय सदस्य हुन् ।)
Related