लेखकः राजिव मावाेहाङ्
सर्वप्रथम त प्रकृति मानिसले बुझ्न सक्नुपर्छ । पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसलाई नै किन बनायो त भन्दा सबै भन्दा बुद्धिमान प्राणीको रुपमा भएर हो । त्यसैले बुद्धिमान प्राणीले हरेक कुरालाई बुझ्ने मात्र होइन आफैले क्रस चेक पनि गर्नुपर्दछ ।
प्रकृति बुझ्नलाइ कि त यही विषय पढेको हुनपर्यो कि त पर्यटन र प्रकृतिको भरपुर ज्ञान हुनुपर्दछ । हामी सबैलाई घुम्न, डुल्न र हाइकिङ गर्न रमाइलो लाग्छ । त्यसको लागि हरियाली वनजङगल, डाँडाकाँडाले भरिपुर्ण ठाउँहरुको पहिचान गरेर जान्छौं ।
यदि त्यस्ता ठाउँहरुको नै विनास र विकल्प सोच्न थाल्नु चाहिँ मानवीय हिसाबले प्रकृति माथिको ठूलो घात हो । प्रकृतिले हामीलाई त्यसै बाट बाँचेर सिंगो विश्वलाई त्यस्तो ठाउँहरुको बारेमा चिनाउ, देखाउ भनेर दिएको अनुपम उपहारलाइ हामीले बेवास्ता गरेर त्यसको विरुद्ध लाग्न थाल्यौं भने ढिलो चाँडो प्रकृतिले माफ गर्ने छैन । त्यसैले, हामीले प्रकृति लाई बेवास्ता गर्याैँ भने के हुन्छ भनेर धेरै टाढा जानुपर्दैन जस्तो लाग्छ । हाम्रै वरिपरिको परिवर्तन हेरे पुग्छ ।
केही वर्ष अगाडी प्रायः सबैतिर हरियाली वनजङगल रहेको ठाँउहरुमा भस्मे फाँडेर खेती गर्ने चलन खुब चलेको थियो । एक साल त खेती गरियो राम्रै उब्जनी हुन्छ । मनग्गे पुग्छ । तर, त्यसकै कारण रुखबिरुवा फँडानी भएका कारण अर्को साल उस्कै घर पहिरोले बगाउँछ ।
यी त प्रतिनिधि पात्र हुन् । वन जङ्गल विनास र प्राकृतिक रुपमा रहेका सम्पदा, बोटबिरुवाको विनास गर्नु भनेको स्वयं आफ्नो विनास गर्नु जस्तै हो । तपाईं हाम्रो पुस्ताले त यसको असर कमै भोग्न पाइएला तर, अबको आउने पुस्ताले यो पृथ्वीको चक्रीय प्रणालीमा पर्ने प्रतिकुल असरका कारण धेरैथोक गुमाउनेछन । जुन हामी कल्पना सम्म गर्न सक्दैनाैँ । यस्ता सामाग्री अनलाइन, युट्युबतिर प्रशस्त छन् समय निकालेर हेर्दा मज्जाले बुझिन्छ । मानिस दिनप्रतिदिन किन प्रकृतिप्रेमी बन्दैछ भनेर !
अहिलेको परिवेशमा नेपाल पर्यटकीय गन्तव्यको हिसाबले संसारको उत्कृष्ट मध्येको एक हो । त्यसैले पनि हामीले प्रकृतिलाई जोगाउन सकिएन भने पर्यटन बाट आउने ठूलो रकम गुमाउने निश्चित छ । काठमाडौंकै अवस्था हेर्ने हो भने पहिले बच्चा बेलामा हामी गाउँमा गाइवस्तु चराएर हिँडेको जस्तो ठाउँहरुमा मानिसहरु हरेक दिन हाइकिङ, ड्राइ पिकनिक मनाउन गइरहेका छन् । अझ हामीसँग त त्यस्ता सिंगो पहाड, हिमालहरु नै प्रशस्त छन् । जसमध्येको एक हरियाली स्वच्छ वातावरण र विभिन्न वन र वन्यजन्तुहरुको अवलोकन र विश्वको तेश्रो तथा नेपालको दोश्रो हिमाल कंचनजङघा/सेसेलुङ र फक्ताङ्लुङ/कुम्भकर्ण/जानू हिमाल लगायत अन्य हिमश्रृङखलाहरुको अवलोकन गर्न सकिने पाथीभरा/मुक्कुम्लुङ/सुमुक्तु कोक्मा मन्दिरमा केवलकार राख्नुपर्छ भनेर तर्क गर्नु एक ताप्लेजुङबासीको नाताले आफैलाइ लाज लाग्नुपर्ने हो ।
अबको १० देखि १५ वर्षमा मानिसहरु हरियाली वनजङगल अनि कुनै मानवीय कृत्रिम साधनले असर नपुर्याएको स्थानको खोजीमा हुन्छन् । अनि हिँडेर तीर्थयात्रा गर्न खोज्छन् । त्यतिबेला हामीले त्यै केवलकार देखाउनुपर्ने हो ??? कि प्रकृतिलाई अझ स्वच्छ र अनुकुल बनाउने हो ?
अब अर्को बिजनेसको कुरा, अहिले ताप्लेजुङबासीले सवारीसाधन देखि जति पनि होटल व्यवसायी र मान्छे बोक्ने भरिया साथीभाइहरु छन् उनीहरुको दिनचर्या गुम्छ । र अन्तिममा उइ विदेशिन बाध्य पारिन्छ । त्यसैले पनि यो केवलकार बन्नु हुँदैन । (यी माथिका कुनै पनि व्यवसायमा मेरो कुनै संलग्नता पनि छैन । भविष्यमा पनि रहने छैन)
अब यी सबै कुरा गरि रहँदा विकास विरोधीको बिल्ला भिराउनुहुन्छ । थाहा छ । त्यसैले यदि केवलकार हालेर विकास हुन्छ भने ताप्लेजुङबाट माथी याङमा सम्म लैजाउँ न त ! जहाँ अहिलेसम्म फोन सम्पर्क गर्न पनि १ दिनको बाटो (३२ किमी) ओलाङ्चुङगोलासम्म हिँड्नुपर्छ । त्यहाँ राखाै केवलकार अनि विकासको मुल फुटाऔ त । के हुँदो रहेछ ।
अनि अर्को कुरा केवलकारको जग्गाको विषय जुन अचम्म मात्र होइन छक्क परेर तीन मात्र होइन १० बल्ड्याङ लडिन्छ । ९० हजार प्रती रोपनी किनेर ९० लाखमा कसरी पास भयो ?? हैट ! अनि अझ केवलकारको पूर्ण डीपीआर अहिलेसम्म किन सार्वजनिक गरिदैन ?? चासोको विषय छ । अर्को कुरा त्यहाँका साझेदार पालिकाहरुलाइ किन समन्वय गरिदैन ?? नगरपालिकाको एक्लै हो ??
यो भन्दा अगाडी चन्द्र ढकालकै लगानीमा निर्माण भएका केवलकाहरु पनि हेराैँ । मनकामना केवलकार बनेर स्थानीय लाई के फाइदा भएको छ भनेर हेर्दा हुन्छ । त्यहाँ केवलकार त बन्यो तर, स्थानीयको सहभागीता शून्य छ । स्थानीयले एउटा पानीसम्म बेच्न पाउँदैनन । अर्को चन्द्रागिरी केवलकारको कुरा गरौं जहाँ अहिले धार्मिक आस्था लिएर तीर्थयात्रा गर्नेहरु भन्दा पनि त्यहाँ हिउँ खेल्ने र डेटिङ जाने क्रम बढेको छ । अर्को लुम्बिनी केवलकारको कुरा गरौं उनले त्यहाँ सुरु गर्ने बेला स्थानीयलाइ अनेक प्रलोभन र लाभ देखाएकै हुन् । तर, अहिले स्थानीयबासीहरु केवलकार हेरेर बस्ने बाहेक केही छैन । हाम्रो छिमेकी देश भारतकै कुरा गरौं केदारनाथ एउटा प्रसिद्ध तीर्थस्थलमध्ये एक हो । त्यहाँ के भारयीय व्यवसायीहरु अनि सरकारले चाहे १५ दिनमा बनाउन सक्दैन र ?? तर, त्यहाँ प्रकृति लाई जस्तो छ त्यस्तै स्वरुपमा राखिएको छ । त्यसैले पनि ताप्लेजुङको हकमा पाथीभरा/मुक्कुम्लुङ/सुमुक्तु कोक्मा देवी मन्दिरमा केवलकार बन्नु हुदैन।
अब अझ हामीले यहाँ मुख्य पाथीभरा/मुक्कुम्लुङ/सुमुक्तु कोक्मा को विषयमा हामी आफै आफैमा द्वन्द्व छ उता झापा र इलामले पाथीभरा/मुक्कुम्लुङ/सुमुक्तु कोक्मा को नाममा मन्दिर बनाएर एउटा राम्रो आन्तरिक श्रोतको बाटो बनाइसकेको छ । त्यसैले हामीले यो केवलकार बनाउने कुरालाइ तुरुन्त क्यान्सिल गरेर असली पाथीभरा/मुक्कुम्लुङ/सुमुक्तु कोक्मा को ब्राण्डिङ र प्रचार एकदम आवश्यक छ ।
त्यसैले हामीलाई प्रकृतिले यसरी दिएका यी अनुपम उपहारलाइ एउटा बिजनेस दलालको हातहरुमा सुम्पिनु हुँदैन । जसरी केही वर्ष अगाडी सुमार्गीले सिङजेमा तालमा कब्जा गर्न खोजेको थियो । त्यसरी नै अहिले ताप्लेजुङको पाथीभरा/मुक्कुम्लुङ/सुमुक्तु कोक्मा मा अहिले चन्द्र ढकालले केवलकार बनाएर आफ्नो आधिपत्य जमाउन खोज्दैछ । त्यसैको लागि सुरुमा केही मानिसलाई ललिपप देखाउने अन्तिममा त्यसको खोल उकाएर फाले झैँ फाल्छ भन्ने कुरामा ढुक्क भएर बसे हुन्छ ।
अहिले केवलकारको विषयमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, श्रीजङघा गाउँपालिकाको एउटा चुचुरोको रुपमा रहेको पाथीभरा/मुक्कुम्लुङ/सुमुक्तु कोक्मा लाई फुङ्लिङ नगरपालिकाको एकोहोरो सहमतिले कसरी अगाडी बढ्दैछ ?? हामी हेर्दै मात्र छाैँ । जुनदिन पेलपाल गरेर अगाडी बढ्ने दुस्प्रयास हुन्छ त्यो दिन ठूलो दुर्घटना निश्चित छ । त्यसैले यी र यस्ता कुराहरुमा हाम्रो नियामक निकाय, सम्बन्धित संस्थाहरुले बेलैमा विचार पुर्याउनु राम्रो ।
(साभारः राजिव लिम्बुकाे भ्लगबाट)
Related