मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच

 लिम्बुवान न्युज
                       

झापा, १५ पुस । पछिल्लो समय बालबालिकामा अदूरदृष्टि (मायोपिया) को समस्या बढ्दै गएको पाइएको छ । गाउँका बालबालिकामा भन्दा शहरका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको हो ।


बालबालिकाको आँखाले नजिकको बस्तु बढी हेर्ने काम गर्दा यस्तो समस्या देखिने गरेको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले बताए । डा. जोशीका अनुसार शहरका १० प्रतिशत बालबालिकामा मायोपियाको समस्या देखिएको छ भने गाउँका दुई प्रतिशत बालबालिकामा मात्रै यस्तो समस्या देखिएको छ । बच्चाले टाढाको बस्तु नदेख्ने समस्या पछिल्लो समय नेपालमा मात्र नभई दक्षिण एशियामा नै बढिरहेको र ताइवान तथा चीनमा यो समस्या बढी देखिएको डा. जोशीको भनाइ छ । शहरमा रहेका बालबालिकाले बढी मोवाइल लगायतका विद्युतीय उपकरण ‘ग्याजेट’ चलाउने र पढाइमा बढी केन्द्रीत हुने हुँदा यस्तो समस्या देखिएको हो– डा. जोशीले भने– मेची आँखा अस्पतालले दुई लाख तीन हजार आठ सय ३० जना बालबालिकाको आँखा जाँच गर्दा शहरका बालबालिकामा यस्तो सदस्या बढी पाइएको छ ।


६ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको आँखा जाँच गर्दा अदूरदृष्टिका समस्या भएका ५६ जना बिद्यार्थीको आँखाको शल्यक्रिया गर्नु परेको डा. जोशीले बताए । धेरैजसो बालबालिकामा दृष्टिदोष वा चश्मा लगाउनुपर्ने समस्या देखिएको छ– डा. जोशीले भने – बालबालिकामा अन्धोपनसँग सम्बन्धित अन्य रोगपनि देखिने गरेको र बाल अन्धोपनका प्रमुख कारण मध्ये दृष्टिदोष बाहेक बाहिरी नानीमा फूलो पर्नु, मोतीबिन्दू लाग्नु र टेडो आँखा हुनु रहेका छन् । सन् २०१८देखि मेची आँखा अस्पतालले अर्बिस अन्तराष्ट्रिय संस्थाको साझेदारी र नेपाल नेत्र ज्योति संघको सहकार्यमा रिच प्रोजेक्टमार्फत झापाका १५ बटै पालिकामा रहेका विद्यालयका विद्यार्थीको आँखा जाँच गरिएको थियो । आँखा जाँचका क्रममा बालबालिकाका मुख्यतया मायोपियाकै समस्या धेरै देखिएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. जोशीले बताए ।


कार्यक्रम लागू भएपछि झापाका पाँच वर्ष मुनिका सबै बालबालिकाको आँखाको जाँच गरिएको छ भने बिद्यालयमा अध्ययनरत् ६ देखि १८ वर्ष उमेर समूहका बिद्यार्थी र उनीहरुलाई अध्ययन गराउने शिक्षकको समेत आँखा जाँच गरिएको अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले बताए ।


बोहोराका अनुसार झापाका ५ सय ४१ विद्यालयका शिक्षक र बिद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । अर्बिसले झापा र सुनसरीमा यो कार्यक्रम सञ्चालन गरेको छ । विश्वव्यापी रुपमा बालबालिकाको आँखा जाँचका लागि दक्ष जनशक्ति उत्पादन गर्दै तालिम र विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको हो । यसै क्रममा मेची आँखा अस्पतालले समेत यो कार्यक्रम सञ्चालन गरेको र दुई लाखभन्दा बढी बालबालिकाको आँखा जाँच गर्दै कार्यक्रम समापन गरिएको अस्पतालका प्रमुख प्रशासक सुरज रौनियारले जानकारी दिए ।


रौनियारका अनुसार जाँच गरिएका बालबालिका मध्ये ६ हजार दुई सय ९५ जनालाई निःशुल्क चश्मा बितरण गरिएको छ भने ४ हजार ७ सय ६५ जना बिद्यार्थीको मेची आँखा अस्पतालमा ल्याएर आँखाको उपचार गरिएको छ । अस्पतालले विभिन्न विद्यालयका ६७६ जना शिक्षकलाई तालिम समेत प्रदान गरेको थियो ।
आँखा जाँचका लागि अस्पतालमा कार्यरत दृष्टि विशेषज्ञ, नेत्र सहायक, आँखा स्वास्थ्य कार्यकर्ता, परामर्शकर्ता, अप्टिसियन र आई कर्मचारीको टिमले विभिन्न विद्यालयमा पुगेर बिद्यार्थीको आँखा जाँच गरेको थियो ।
मेची आँखा अस्पतालले सन् २०१८÷०१९मा गौरादह, दमक नगरपालिका, मेची नगरपालिका, बिर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिकासँग सम्झौता गर्दै कार्यक्रम सञ्चालन गरेको थियो । आगामी दिनमा निजी तथा सामुदायिक विद्यालय सबैलाई समेटेर कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

कुन पालिकामा कतिको आँखा जाँच

झापाका १५ स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै बिद्यार्थीको आँखा जाँच गरिएको छ । बिर्तामोडका ३५ हजार नौ सय ९७ जना बिद्यार्थीको आँखा जाँच गर्दा ५ हजार एक सय ४५ जनामा समस्या देखिएको हो । अर्जुनधारा नगरपालिकामा १२ हजार २१ जनाको आँखा जाँच गर्दा सात सय ८७ जनामा समस्या देखिएको थियो ।

भद्रपुरमा १४ हजार ६ सय ६५ जनाको आँखा जाँच गरिएको छ । दमकमा २५ हजार ८३ जनाको आँखा जाँच गरिएको जनाइएको छ । गौरादहमा १२ हजार नौ सय ९०, कनकाईमा ११ हजार १ सय ७२, मेचीनगरमा २५ हजार एक सय २५, शिवसताक्षीमा १३ हजार एक सय ४४ जनाको आँखा जाँच गरिएको थियो । बाह्रदशी गाउँपालिकामा सात हजार सात ५१, बुद्धशान्तिमा १२ हजार दुई सय ३०, गौरीगञ्जमा ६ हजार चार सय २९, हल्दिवारीमा ६ हजार नौ सय २७, झापामा तीन हजार एक सय ८०, कमलमा ८ हजार ८ सय चार र कचनकवलमा आठ हजार १३ जनाको आँखा जाँच गरिएको बताइएको छ ।
मेची आँखा अस्पताल परिसरमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटी, अर्जुनधाराका नगर प्रमुख हरिकुमार राना, बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल, बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँईसहित विभिन्न पालिकाबाट शिक्षा शाखा प्रमुखको सहभागिता रहेको थियो । (साभारः पूर्वाञ्चल दैनिबाट)

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...