समानुपातिक पद्दति तर्फको मतगणना सम्पन्नः कुन दलले कति सिट पाउने ?

 लिम्बुवान न्युज
                       


काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक पद्धतितर्फको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले सबै जिल्लामा मत गणना सकिएको जनाएको हो ।
आयोगका अनुसार अहिले आयोगको केन्द्रीय कार्यालयमा मत रुजु गर्ने काम भइरहेको छ । तर यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ ।
आयोगको अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । यो पद्दतिमा नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउने देखिन्छ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।
नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाउँदा उसले समानुपातिकमा ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।
२०७४ को चुनावमा एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुबै दलले करिव ६ प्रतिशत विन्दुले मत गुमाएका छन् ।
माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ । यो पटक प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् ।
ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।
त्यसैगरी अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।
तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) को भोट सीके राउत नेतृत्वको जनमत पार्टीले काटेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । जबकी अघिल्लो चुनावमै उसले ४ लाख ७० हजार २०१ अर्थात ४.९२६३ प्रतिशत मत पाएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड नै कटाउन सकेन । जबकी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो पटक ४ लाख ७२ हजार २५४ अर्थात ४.९४७८ प्रतिशत भोट पाएको थियो ।
पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ । ७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी यि तीन वटा पार्टीहरु राष्ट्रिय पार्टी बन्न चुकेका छन् । त्यसैगरी एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले त्यसैमा चित्त बुझाउनु पर्ने भएको छ ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...