इलाममा सयाैं जनाले गरे केःलाङकाे प्रशिक्षण

 लिम्बुवान न्युज
                       

दमक, १४ पाैष । इलामका एक सय जना युवा र किशोरकिशोरीलाई च्याब्रुङ नाच (के:लाङ) प्रशिक्षण दिईएको छ । याक्थुङ युवा मञ्च इलामले ग्रामीण क्षेत्रका युवा र किशोरकिशोरीलाई संस्कृति जगेर्नामा प्रेरित गर्न च्याब्रुङ नाच (के:लाङ) प्रशिक्षण दिइएकाे बताएका छन् ।

मञ्चले सदरमुकामस्थित चियाबारीमा आयोजना गरेको १५ दिनको प्रशिक्षणमा ग्रामीण क्षेत्रका एक सय जना युवा र किशोरकिशोरीले भाग लिएका थिए । प्रशिक्षणक किरात याक्थुङ चुम्लुङ इलामका सल्लाहकार बखतबहादुर आङदेम्बे, उपाध्यक्ष पदम ताम्लिङ र पदम सम्बाहाम्फेले प्रशिक्षण दिएका थिए ।  लिम्बू भाषामा च्याब्रुङ नाचलाई के:लाङ भनिन्छ ।

लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ नाच (के:लाङ) को जगेर्नाका लागि नि:शुल्क प्रशिक्षण सञ्चालन गरिएको याक्थुङ युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताए । ‘आफ्नो संस्कृतिको बारेमा युवा पुस्तालाई सचेत गराएर मात्र संस्कृति जोगाउन सकिन्छ,’ अध्यक्ष योङहाङले भने, ‘हामी त्यही अभियानमा छौं, पहिलो चरणमा सदरमुकाममा च्याब्रुङ प्रशिक्षण आयोजना गरेका छौं, आगामी दिनमा ग्रामीण क्षेत्रमा समेत सञ्चालन गर्नेछौं ।’

 

संस्कृतिका रुपमा रहेको च्याब्रुङ नाचको माग बढ्न थालेपछि नयाँ पुस्ता कला र संस्कृति संरक्षणसँगै विकासमा जुटेको अध्यक्ष योङहाङले बताए ।

च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रमले आदिवासी लिम्बू समुदायको कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन एवम् नयाँ पुस्तामा पुस्तान्तरणमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले बताउनुभयो ।

लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका हुन् । जिल्लाका लिम्बू युवाहरु आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा जुटेका हुन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृतिहरु लोप हुने अवस्था सिर्जना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् ।

यसैबीच शनिबार एक कार्यक्रम गरी प्रशिक्षण समापन गरिएको छ । आयोजकका अध्यक्ष योङहाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय सचिव चक्र येक्तेन (अभिषेक), फाकफोकथसम गाउँपालिका-३ का वडाअध्यक्ष दिपेन्द्र लिम्बूलगायत विभिन्न जातीय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष दुर्गा थेगिम र सञ्चालन सचिव रेखा बेघाले गरेका थिए ।

 

लिम्बूहरुको मौलिक बाजा च्याब्रुङ

आदिवासी लिम्बू समुदायको मौलिक बाजा च्याब्रुङलाई लिम्बू भाषामा ‘के:’ भनिन्छ । च्याब्रुङ लिम्बू समुदायको शुभकार्यमा प्रयोग गरिन्छ । नयाँ घर बनाएपछि गरिने घरपैँचो तथा विवाह समारोहमा च्याब्रुङ बजाएर च्याब्रुङको धुनसँगै खुट्टाको चालमा महिला तथा पुरुषहरु लहरै नाच्ने प्रचलन छ । यसका साथै विभिन्न स्वागत सत्कारमा यो बाजा बजाउने गरिन्छ । आजकल सरकारी उत्सवहरुमा समेत च्याब्रुङ बजाउने प्रचलन बढेको छ ।

च्याब्रुङ खमारी (हङसिङ) को काठको मुढाको बीच भाग खोलेर दुवैतिर छालाले मोरेर बनाईन्छ । मुढाको दाँयातर्फ बाख्राको छाला र बाँयातर्फ गोरुको छालाले मोरेर च्याब्रुङ बनाईन्छ । यसलाई गलामा छालाको डोरी झुन्ड्याएर छातिमा अड्याएपछि दायाँतिर हत्केलाले र बाँयातिर छोटो च्याप्टो लठ्ठीले हिर्काएर धुन सिर्जना गरिन्छ ।

यसबाट उत्पन्न हुने धुनलाई सुरिलो र तालमा ढाल्नका लागि काठको बीचमा सानो प्वाल पारी बेत वा मलिबाँस खिपेकफ सानो सुइरो घुसारेर त्यसको टुप्पामा पाङ्ग्रो अड्याइएको हुन्छ । जसलाई लाङ्पा भनिन्छ ।

च्याब्रुङ नाच (केलाङ)

च्याब्रुङ केलाङ नाचमा गीतको खासै प्रयोग भएको पाइदैन । च्याब्रुङ बजाएर च्याब्रुङकै धुनमा नाचिने भएकाले यसलाई नेपाली भाषामा च्याब्रुङ नाच र लिम्बू भाषामा के:लाङ भनिन्छ । च्याब्रुङ नाचको आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रुङ नाच विभिन्न जनावर र पशुपंक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रुङ नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।

सम्बन्धित समाचार

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...

माङसेबुङ ‘लिम्बु भाषा’लाई सरकारी कामकाजी भाषा घोषणा गर्ने बन्यो पहिलो पालिका

दमक, १५ जेठ । प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार पालिका प्राङ्गणमा एक कार्यक्रमकाको आयोजना गर्दै पालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी...

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...