कविता : दशैं शुभकामना

 लिम्बुवान न्युज
                       

  •  सेसेहाङ् फियाक

हाम्रो लिम्बुवानमा जन्मेपछि
आजकै दिन मौलोनेर उभिएर
मान्सिरी पढ्दै मार काटेर पनि
दशैंको शुभकामना बाँढें ।
सुभाको आदेशमा
गाउँ घर घुमीघुमी दुर्गा भवानी जप्दै
जाँड, पानी, मासु, तरकारी
मागी खाँदै पनि
शुभकामना बाँढे ।
दिनहरू वित्दै आउँदा
ससुरालीमा घ्याम्पा घ्याम्पा
रक्सी र हक्तबाको नाममा राँगा र सुँगुर
कोसेली लगिदिएर पनि
अनि आफूले थापी खाएर पनि
शुभकामना बाँढे।
अनि घरगाउँमा
खसी, राँगा, सुँगुर
हजारौै मारिखाएर पनि दशैंको
शुभकामना बाँढे।
दशैंको बेलि पाहुना जाँदा दिनमा
दश ठाउँ मेजमान खाएर
दिनमा दश चोटि पाहुनालाई मेजमान ख्वाएर
रात दिन धान नाच्दै पालाम गाएर पनि
दशैंको शुभकामना बाँढे।
तर
ती कुरा अब सबै अतीत भए
ती कुरा सबै विगत भए
ती कुरा अब मेरा लागि पुराना भए
किनकि,
अहिले दशैं मेरो हो कि होईन भनेर
आन्दोलन मच्चिएको छ मेरो मानस पटलमा
दशैं मनाउन खसी किन्न जाँदा बजारमा
यो चाड हिन्दूको मात्र भन्ने हल्ला सुन्छु
चिउरा कुटाउन मिलमा जान्छु, त्यहाँ
असुर राक्षसलाई मारेर खुसीमा मनाको भन्ने सुन्छु
असुर भनेको म जस्ता थेप्चेको पुर्खारे भन्छन्
अनि दशैं त चुच्चेहरूको मात्र रे पनि भन्छन्
हल्लै हल्ला सुन्छु
बेतुकको हल्ला
म त छुवाछुत बिनाको मुन्धुमी दर्शनको मान्छे
म त हत्या हिंशा नजान्ने मुन्धुमी दर्शनको मान्छे
चुच्चे थेप्चेको बर्गिय नगर्ने मुन्धुमी सन्तान
अनि राक्षस र देवताको युद्धको कथा नजान्ने मान्छे
दशैंले
मेरो चित्तै बुझाउँदैन र नि
अब त निधारभरि केवल आदर्शको टीका थापेर
शुभकामना बाँड्दिन कि भन्छु
किनकि
दशैंले मलाई हत्या हिंसा विनाको शिक्षा नै दिएन
दशैंमा खसी काट्ने, राँगा मार्ने, सुँगुर मार्ने र
पेट फुल्लिने गरि खाने मात्र सिकाए
लाखौं जीवजन्तुको बलिपूजा र हत्या मात्र सिकाए
म कसरी अबलम्वन गरूँ र
शुभकामना बाँडुँ ।
अझ यसपाली त झन्
विश्व महामारी कोरोनाले
मेरा सबै खुशीहरू छिनालेको बेला
मेरै करको पैसा दशैं भत्ता थापिखाने
नेताहरूको अनुहार सम्झँदा जुत्तै जुत्ताले
गाला गालामा हानुँ जस्तो भईराबेला
राज्यले जनतालाई कुनै राहत आहत केही
नदिएर आआफ्ना झुप्रोमा रोईरहेको बेला
दशैंको के शुभकामना बाँड्नु र रु
विगत एक वर्षदेखि
मेरो राज्यले दिन दिनै रोगले
मान्छे संक्रमित भएर मरिरहेको खबर
अनि
रोग, भोक र शोक रोक्न नसकिएको खबर बाहेक
केही पनि दिन नसकेको समयबिचमा आएको दशैं
म जस्ता लाखौं जनतालाई दशा बनेको छ ।
म जस्ता लाखौं जनतालाई अभिशाप बनेको छ ।
म जस्ता लाखौं जनतालाई निल्न न ओकल्न भाको छ ।
दशैं भनौं या तिहार भनौं
सत्ता र भत्ताका घोडाहरूलाई मात्र मज्जा छ
सत्ता र भत्ताका नोकरहरूलाई मात्र गजब छ
किनकि
ढुकुटी रित्याएर पेट भर्ने उनीहरूलाई मात्र मस्ति छ
देश रित्तो बनाएर पनि सम्मान उनीहरू कै छ
जनता त
म जस्तै झुप्रोमा रात दिन रोएर बस्ने त हो नि
जनता त सडकभरि अभावमा भौतारिन्दै हिड्ने त हो नि
दशैं आए पनि तिहार आए पनि
जनताहरूको रोदनको र विरहको आवाज नसुन्ने
मेरो मुलुक र भूमिमा उभेर
खोइ कसरी
दशैंको शुभकामना बाढुँ?

(हाम्राे दमकबाट)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;