नेकपा फुटकाे संघारमा, ओली र प्रचण्डले थाले यस्तो तयारी

 लिम्बुवान न्युज
                       

काठमाडौँ । सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन ।’

दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त ? त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ ।

बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले भनिदिएछन्, ‘यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं। सल्लाहले नै फुटाऔं ।’ दाहालले आफ्नो निवासमा समर्थक नेताहरूलाई बोलाएर आइतबार यसबारे जानकारी दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुई अध्यक्षको शक्ति संघर्षले नेकपालाई एकताको साढे दुई वर्षमै विभाजनको डिलमा पु¥याएको हो ।

यसलाई उक्साउन र एकता बचाउन दुवै खाले रणनीतिमा पार्टीभित्र विभिन्न समीकरण बन्न थालेका छन्। यही क्रममा दुवै अध्यक्षले निकट नेताहरूसँग तीव्र छलफल चलाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान आफूनिकट नेता ईश्वर पोखरेल, पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ र सचिवालयका सल्लाहकारहरूसँग संवाद गरे । शनिबार मात्रै गण्डकी प्रदेश फर्केका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ओलीले काठमाडौं फर्किन निर्देशन दिएका छन् ।

उता, दाहालले बहुमत सचिवालयका सदस्यहरूको भेला आइतबारै खुमलटारमा गरे । छलफलमा गृहमन्त्री रामबहादुर थापासहित ६ जना सहभागी थिए। त्यही क्रममा दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अवगत गराएका हुन् । सधैं किचलो र झैझगडा गरेर एकै पार्टीमा बस्नुभन्दा अलग्गिनु उचित हुने प्रधानमन्त्रीको भनाइ थियो ।

‘पार्टी नेताहरूले बैठक राख्न माग गरिरहनुभएको छ । प्रचण्ड कमरेडले प्रधामन्त्रीसँग समसामयिक विवादास्पद विषयमा कुरा प्रस्ट पार्न सचिवालय बैठक बोलाऔं भन्नुभएछ’, खुमलटारमा दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘तर, प्रधानमन्त्रीले बैठक राख्दिनँ भन्नुभएछ । केन्द्रीय कमिटी, स्थायी समिति वा सचिवालय जुनसुकै बैठक राखेर कुनै निर्णय गरे पनि म मान्दिनँ भन्नुभएछ ।

बरु तपाईंहरूले बैठक बसेर निर्णय गर्नुभयो भने त्यसविरुद्ध एक्सनमा जान्छु भन्नुभएछ । अब यही तरिकाबाट पार्टी कसरी अगाडि जान सक्छ ? यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं । सल्लाहले नै फुटाऔं भन्नुभएछ ।’

दाहालको ब्रिफिङमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र गृहमन्त्री थापा सहभागी थिए । ‘प्रधानमन्त्री अब सँगै जान सकिँदैन मात्रै भन्नुहुन्छ, अब भन्नुस् के गर्ने ?’, दाहालले सचिवालयका सदस्यहरूलाई सोधेका थिए ।

प्रत्युत्तरमा बाँकी नेताले एकता कुनै हालतमा भंग हुन दिन नहुने सुझाव दिएका थिए । उक्त भेलाले पार्टी बैठक बोलाउन ओलीमाथि दबाब बढाउने निष्कर्ष निकालेको छ । त्यसका लागि आवश्यक परे सामूहिक रूपमै प्रधानमन्त्रीसँग भेट्ने र कुरा राख्ने तय भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सम्बन्धित समाचार

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...

माङसेबुङ ‘लिम्बु भाषा’लाई सरकारी कामकाजी भाषा घोषणा गर्ने बन्यो पहिलो पालिका

दमक, १५ जेठ । प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार पालिका प्राङ्गणमा एक कार्यक्रमकाको आयोजना गर्दै पालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी...

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...