भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

 लिम्बुवान न्युज
                       

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ ।

नरवणेको गाडीको अगाडि-पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गर्नेछ । सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहनेछ ।

उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको विश्लेषण छ । नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण सुरक्षा अधिकृतहरुले गरेका हुन् । त्यसैले अाज उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ ।

नरवणेको कार्यतालिका 

बुधबार नरवणे नेपाल आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने भनिएको छ ।

पत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

भ्रमणको महत्वपूर्ण कार्यक्रम भोलि (बिहीबार) राखिएको छ । उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको हो ।

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसकेका छन् ।

नरवणेको नेपाल भ्रमण पनि केही अघि नै तय भए पनि कोभिड-१९ भाइरसका कारण रोकिएको सेनाले बताउँदै आएको थियो ।

शीतल निवासको कार्यक्रमअघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् । समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्नेछन् ।

छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल समेत गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...