माङसेबुङ/ इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो ।
कक्षा ९ मा यसै वर्षदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न सुरु गरेका छन् ।
विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो । परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन सुरु गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विशेषज्ञ छनोटमा समेत समस्या भएको थियो ।
पछिल्लो समय प्रशिक्षक छनौटका लागि भएको परीक्षाबाट विवेचना आङदेम्बे छनोट भएपछि पठनपाठन शुरु गरिएको हो । माङसेबुङका स्थानीय राजनीतिक तथा सामाजिक अगुवा हेमन्त राईले गाउँमा नै व्यवहारिक शिक्षाका लागि प्राविधिक बिषयको पठनपाठन शुरु हुनु माङसेबुङबासीका लागि गौरवको बिषय भएको उल्लेख गरेका छन ।
Related