माङसेबुमाङमा खिवेक्वा पुजा सम्पन्न, ’यो मुलुक किरात राज्य हो’ धर्मगुरू- अङसीमाङ आत्मानन्द सेइङ

 लिम्बुवान न्युज
                       

  • ज्ञानु केदेम लिम्बु

माङसेबुङ, ५ माघ । किरात धर्मावलम्बीहरु यो मुलुकको आदिम भूमिपुत्र भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । अङसीमाङले भन्नु भयो, ‘यो मुलुक किरात राज्य हो, यहाँ ५ हजार वर्ष किरातहरुले राज्य गरेका थिए ।’

अङसीमाङले थप्नु भयो, ‘यो भूमिमा हामीले अन्य समुदायलाई आश्रय दिएर राखेको ऐतिहासिक प्रमाण हामीसँग छ ।’ वहाँले सो कुरा धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा सोमबार सम्पन्न सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै बताउनु भएको हो ।

आशीर्वचन दिनु हुँदै अङसीमाङले यहाँ बसोबास गरिरहेको विविध जातजातिहरुको फूलबारी झै राज्य पनि समावेशी हुनुपर्ने बताउनु भएको छ । वहाँले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भन्नु हुँदै, मुलुकमा राजनीतिक गडबडी भए विकास निर्माणमा प्रतिकूल प्रभाव पर्ने बताउनु भयो ।

संसारमा आधुनिक हतियारहरुको प्रतिस्पर्धा चलिरहेको र झैझगडाको संकेत रहेको बताउनु हुँदै, अङसीमाङले थप्नु भयो, ‘अन्तर्राष्ट्रिय कुटनीतिकहरुसँग राजनीतिककर्मी, सामाजिक, धार्मिक अभियन्ताहरु जोगिनु पर्ने समय आएको छ ।’

संसारमा अनौठो रोगहरु आउने र कोरोना भाइरसले रुप फेर्दै जाने आशीर्वचनको क्रममा अङसीमाङले संकेत गर्नु भएको छ ।अन्धभक्त नै भने पनि साँझ विहान माङ सेवा गर्न छोडनु नहुने वहाँले सुझाउनु भएको छ । युमा साम्माङ शक्तिशाली इष्टदेव भएको तर धर्मको नाम युमा धर्म हुन नसक्ने अङसीमाङले प्रष्ट पार्नु भएको छ ।

खिबेक्वा याक्वा सेवा (उभौली पर्व) मा विशेष गरी अन्न सह, धन सह, माङथिम, हाङथिमको सह, माङवाहाङवा माग्नु पर्ने वहाँले बताउनु भयो । आशीर्वचनमा वहाँले थप्नु भयो, ‘इश्वर (माङ) प्राप्त गर्न अन्धभक्त भएर निरन्तर लाग्नु पर्छ ।’

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थिती रहेको कार्यक्रममा किरात धर्म सम्बद्ध संघ सस्था, सामाजिक संघ संस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

हरेक वर्ष माघ ४, ५ र ६ मा वृहत रुपमा मनाइदैं आएको खिबेक्वा याक्वा सेवा (उभौली पर्व) कोरोनाको जोखिमका कारण यसवर्ष कोरोना भाइरस महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी समारोह मनाइरहेका छन् ।

उद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वयन समितिका संयोजक गणेश बरालले समारोहलाई सम्बोधन गर्नुहुँदै, उभौली पर्वको अवसरमा सम्पूर्ण कृषकहरुले व्यवसायिक खेतीपातिको सुरुवात गर्नुपर्ने बताएका छन् । प्रमुख अतिथि बरालले भने, ‘अन्नबाली सँगसँगै फलफूल रोपेर आयआर्जन गर्ने बानी बसाँलौं ।’

खिबेक्वा याक्वा सेवाको अवसरमा विगतका वर्ष झै शनिबार साक्मुरा वादेम्मा गरिएको र आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य, किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ प्रस्तुत गरिएको थियो । भने किरात स्वर सम्राट अर्थवीर लाओती ‘सिमले कान्छा’, रामप्रसाद लाओती, संगम थेबे लगायतले सिवाखाहुन समेत प्रस्तुत गरेका थिए ।

धर्ममा अन्धभक्त हुनु पर्छ भन्ने अङसीमाङको आशीर्वचनको पुस्तक समेत विमोचन गरिएको समारोहमा प्रमुख अतिथि संयोजक बराल र माङसेबुङ गाउँपालिकाका वडा नं. ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहको कार्यक्रम अन्तर्गत सोमबार समुद्घाटन पश्चात साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन हुने सांस्कृतिक विभागले जनाएको छ । समारोहको समापन कार्यक्रम पनि मंगलबार नै हुने मूल समारोह समितिले जनाएको छ ।

समारोह अध्यक्ष केहेरसिं योङहाङका अनुसार मंगलबार (भोलि) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ ।

त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङवा हाङवा (बीउविजन) वितरण हुने कार्यक्रम रहेको छ ।

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने महासचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।

(तस्वीरः माङसेबुङ न्युजबाट)

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...