विवाहमा झगडा हुँदा चारजना घाइते, बेहुला बेहुलीले भागेर ज्यान बचाए

 लिम्बुवान न्युज
                       

विराटनगर। विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ ।

स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा र सुनचाँदीका गरगहना लुटेको प्रहरीले जनाएको छ । लुटपाट गर्ने गिरोहको आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका हुन् ।

उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर छ । उनीहरुको टाउको, खुट्टा, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । प्रहरीका अनुसार भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ । उनको छातीमा भाला पनि प्रहार भएको प्रहरीले जनाएको छ ।

भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईको विवाह शुक्रबार राति आयोजना गरिएको थियो । विवाह सकिएपछि आफन्त सुतेको समयमा आएको समूहले आक्रमणपछि लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । आफन्तले लुटपाट भएको बताएपनि प्रहरीमा भने लुटपाटको जानकारी नआएको उनले बताए । बेहुला, बेहुली र अन्य पाहुनाले भागेर ज्यान जोगाएका थिए ।

नाच्न नपाउँदा झगडा, बरण्डाबाट चढेर आक्रमण

प्रहरीका अनुसार शुक्रबार रातिको वैवाहिक कार्यक्रममा करिब १० बजेतिर मादक पदार्थ सेवन गरी विवाह घरमा पुगेको एक समूहले साउण्ड सिस्टम बजाएर नाच्न पाउनुपर्ने भन्दै विवाद गरेको थियो ।

विवाहघरमा रहेकाले सम्झाएपछि गएको समूह पुनः फर्केर आएर होहल्ला ग¥यो। आक्रमण गर्ने शैलीमा आएपछि आफन्तले प्रहरीलाई खबर गरे । राति करिब १ बजे स्थानीयले उजुरी गरेपछि प्रहरी पुग्यो । प्रहरीलाई देखेपछि भागेको समूह प्रहरी फर्किएपछि पुनः घरमा आएर आक्रमण गरेको हो । तर प्रहरी फर्किएको केहीबेरमा आएको उक्त समूहले बरण्डाबाट घरमा चढेर अन्धाधुन्ध आक्रमण गरेको थियो ।

घरको पछाडिबाट बरण्डामा चढेका उनीहरुले खुकुरीले हानेर घरको झ्याल र ढोका काट्दै सुतिसकेकालाई ओछ्यानमै पुगेर आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि बिहेघरमा भागदौड मच्चिएको थियो ।

विवाहमा बेहुलीको नाममा टिका लगाएर जम्मा भएको दुई लाख ३५ हजार पाँच सय रुपैयाँ नगद र सुनचाँदीका गरगहना लुटपाट गरेर समूह भागेको आफन्तले बताएका छन् । प्रहरी स्रोतका अनुसार आक्रमण गर्ने सबै केराबारीकै हुन् । आक्रमण र लुटपाटमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

लुटपाट गरी फरार भएको समूहको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक खड्काले बताए ।

(अनलाइन खबरबाट साभार)

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...