दमक। दमक पूर्वको साहित्यमा सबैभन्दा उद्म स्थलको रुपमा पछिल्लो समय विकास भईरहेको पछिल्लो साहित्य कृयाकलापहरुले बताइरहेको छ । सर्जकहरुको बाकुलै उपस्थिति रहेका यहाँका चिनीएका अनुहारहरुलाई राष्ट्रिय साहित्यमा पनि देख्न सकिन्छ ।
दमकमा मंगलबार एउटै मञ्चमा तीन कृतिहरु विमोचित भएका छन् । पछिल्लो युवा पुस्ताका साहित्यकार मुसाहाङ् अम्याङ्साको साहित्यिक कृति गजल, रुबाइ र हाइकु संग्रह एउटै मञ्चमा विमोचन भएको हो ।

दमक स्थित एस.जी. होटलको सभाहलमा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले विरासतको जोखना (गजल संग्रह २०७७), रेष्टुराँको सटरभित्र (रुबाइ संग्रह २०७७) र रैथाने (हाइकु संग्रह २०७७) एकै पटक विमोचन गरेका हुन् ।
सो कृतिहरुमाथि बोल्दै गजलकार विवश वलिभद्र कोइरालाले विरासतको जोखना गजल संग्रह, फरक आयाम अभिन्यता साङ्सेन पन्धाकले रुबाई सग्रह र दमक प्रज्ञा प्रतिष्ठान सचिव विष्णु न्यौपानेले रैथाने हाइकु संग्रह माथि समिक्षा/टिप्पणी गरेका थिए ।

वि. सं. २०६२/०६३ सालदेखि नेपाली तथा लिम्बू साहित्यमा सक्रिय अम्याङ्साको कृति याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो । विगतमा लिम्बू÷नेपाली साहित्यमा हाइकु तांका रुबाइ, गजल जस्ता विभिन्न विधामा फुटकर सिर्जनाहरु पत्रपत्रिकामा प्रकाशित गर्दै आएका थिए ।
कवि अम्याङ्साको प्रकाशित अन्य कृतिहरुः संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू बंशावली दस्तावेज (२०७४) र मुक्तु (हाइकु संग्रह २०७७) प्रकाशित भएका छन् ।

कार्यक्रममा साहित्यकार राजकुमार सुब्बा अनिश्चित, बिराट किराती, सुमित्रा वाङ्देल चेली, पुष्पहाङ् लोरिङ्देन लोवा, सपना कन्दङ्वा, इछिङ्सा सङ्बाङ्फे, रंगकर्मी वनेम विक्रम फागो, पत्रकार सङ्सेमी माङ्युङ्, भवानी आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी से–नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिष्ठान कोषाध्यक्ष रचना लाओतीले संचालन गरेकी थिइन् । भाषिक आन्दोलनका स्रष्टा नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक/प्रधान सम्पादक पनि हुन् ।