लिम्बुवानखबर, १ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ । तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा गर्ने गरि हाललाई स्थगित गरेको हो ।
कोरोना महामारी दिनप्रतिदिन बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको राप्रपाले जनाएको छ । राप्रपाको महाधिवेशन पटकपटक स्थगित भईरहेको छ । वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै जेठ २२–२५ मा गर्ने तय भएपनि नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमणका कारण स्थगित गरेको बताएको छ ।
साथै आफू सुरक्षित रहँदै कोरोना रोकथाममा परिचालित हुन राप्रपाले पार्टी पंक्तिलाई निर्देशन दिएको छ । यसका साथै महामारी नियन्त्रण एवम् रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनेकोमा चिन्ता व्यक्त गरेको छ ।
कोरोना संक्रमितहरुको लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढेको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।