लिम्बुवानखबर, ७ जेठ। दोस्रो ठूलो दल नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि अन्यदलहरुसँग छलफल गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय ताेकेर दिएपछि नयाँ सरकारबारे छलफल गर्न तत्काल पदाधिकारी बैठक बसेकाे हाे ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षा गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सबै विकल्पबारे छलफल गर्ने निर्णय गरेको छ ।
साथै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न समय कम दिएकोमा कांग्रेसले आपत्ति जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई अचानक नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई अर्थपूर्ण भएको भन्दै कांग्रेसले यो कार्य संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकालेको छ ।
यसैगरी ‘संविधानको मर्म र भावना कुल्चने काम प्रधानमन्त्रीले गर्दै आएको र राष्ट्रपतिले त्यो प्रवृत्तिलाई सघाएको कांग्रेसको निश्कर्ष छ,’ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सबै विकल्पबारे दलहरूसँग आजै छलफल गरी निश्कर्षमा पुग्ने कांग्रेसले जनाएको छ ।