लिम्बुवानखबर। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । आज विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो ।
बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव–झलनाथ पक्ष, जसपाको उपेन्द्र–बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहने छ । उक्त गठबन्धनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो ।
राष्ट्रपतिले मध्यराती प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषण गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोक्न कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको हो । राष्ट्रपतिको कदमले संविधानलाई गम्भीर आघात पुर्याएको छ । संविधान र लोकतन्त्र रक्षाका लागि छलफल गर्न विपक्षी गठबन्धन बैठक बस्न लागेको स्रोतले बताएको छ ।