काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न आज (सोमबार) सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज (सोमबार) बिहान सर्वोच्च जान लागेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा दोस्रो पल्ट संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताइन् । विहान कार्यालय समयमा नै सर्वोच्च अदालत पुगेर रिट हाल्न तयारी भइसकेको छ– उनले बताइन् ।
सर्वोच्चमा रिट हाल्ने प्रयोजनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव–झलनाथ समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र आइतबार नै संकलन गरेका थिए ।
सांसदहरुले सर्वोच्चमा पुगेर व्यक्तिगत रुपमा रिट दायर गर्ने स्रोतले बताएको छ । रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको जिकीर गरिएको छ । यस्तै कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।