काठमाडौं । नेकपा एमालेले दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्काशन गरेको छ । १२ जना नेताहरुलाई २४ घण्टा भित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पूर्व प्रधानमन्त्रीद्वय नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण कायस्थ, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गरेको हो ।
११ जना नेताहरुले पार्टीको स्थायी कमिटीबाट निर्णय भई पठाईएको पत्रको जवाफ नदिएकोपछि पार्टीबाट निष्काशन निर्णय भएको हो । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
१२ सांसदहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले आइतबार सर्वोच्च अदालतमा विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गरेका थिए ।