लिम्बुवानखबर, १२ जेठ। एसियाका तारा भगवान गौतम बुद्धको २५६५औं बुद्धजयन्ती नेपाल लगायत विश्वका बौद्धधर्मावलम्बीहरुले भव्य रुपमा मनाउँदैछन् । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइदै आइएको छ ।
भगवान बुद्धको जन्मभूमि लुम्बिनी स्थित मायादेवीमा भौतिक दुरी कायम गरि बुद्धको आरधाना गरिएको छ । कोरोनाले गत बर्ष समेत बुद्धजयन्तीलाई प्रभाव पारेको थियो । यसैगरी यो बर्ष पनि कोरोनाको दोस्रो लहरले आक्रन्त भईरहेको अवस्थामा बौद्धधर्मावलम्बीहरुले चैत्य, गुम्बा, विहार लगायत स्थलहरुमा भिडभाड नगरी सिमित धर्मगुरुहरुको उपस्थितिमा मनाएका हुन् । बुद्धजयन्तीको अवसरमा बौद्धधर्मका अनुयायीहरुले साँझ घरघरमा दियोवत्ती बालेर पुज्ने चलन पनि रहेको छ ।
शान्तिका अग्रदुत बुद्धका अनुयायीहरु संसारभरी फैलिएको छ । आज संसारभर बुद्धको जन्मजयन्ती भव्यरुपले मनाइने चलन छ । भारत, बर्मा, भूटान, हङकङ, थाइल्याण्ड, श्रीलंका, सिंगापुर, मलेसिया, मंगोलिया, चीनको तिब्बत लगायत अन्य मुलुकहरुमा पनि बुद्धजयन्ती भव्यरुपले मनाइने गरिन्छ । त्यसैगरी नेपालदेखि विभिन्न मुलकमा गएर बसोबास गर्ने बौद्धधर्मावलम्बी नेपालीहरुले पनि आज भगवान गौतमबुद्धको सम्झनामा कार्यक्रमहरु गरी मनाउने चलन रहेको छ ।
नेपालमा विसंं २००८ जेठ ८ गतेदेखि बुद्धजयन्तीका दिन यस पर्वको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशन भएकामध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तकहरु प्रकाशित भएको मानिन्छ ।