विर्तामोड, १२ जेठ । झापा जिल्ला सहकारी संघको अगुवाईमा सहकारी अस्पताल बन्ने भएको छ । सहकारी संघको नेतृत्वमा सहकारी अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडलमा अस्पताल निर्माण गर्न संघले थप छलफल र परामर्श अघि बढाएको हो ।
सहकारी संघले बुधबार भर्चुअल जुम माध्यमबाट सरोकारवालासँगको छलफलमा संघका अध्यक्ष गणेश ढकालले अवधारणा पत्र प्रस्तुत गरेको छ । १ अर्बको लगानीमा चार वर्ष भित्र अस्पताल सञ्चालनमा ल्याउने संघले जनाएको छ । ५० करोडको हाराहारीबाट काम प्रारम्भ गरिने अस्पताल निर्माणका लागि १० बिघा जग्गा दाताहरुबाट प्राप्त हुने आश्वासन आएको छलफलमा बताइएको छ ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी संघले पनि अस्पताल स्थापनामा सहयोग गर्नेे आश्वासन दिएको अध्यक्ष ढकालले बताए । जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।
अस्पताल स्थापना गर्नै पर्नेमा जोड दिएका सहभागीले आ–आफ्नो तर्फबाट सहयोग गर्ने वचन समेत दिएका छन् । कानुनी जटिलता र नेतृत्वको विषयमा स्पष्ट हुन चाहेका सहभागीले जिल्ला संघले कोरोना महामारी र सामाजिक क्षेत्रमा विगतदेखी गर्दै आएको कामको भर्चुअलमा सहभागी सबैले प्रशंसा गरेका थिए ।
पहिलो चरणको कोरोना कहरका बेला करिब ४ करोड बढी खर्च गरेको झापाली सहकारी क्षेत्रले यस वर्ष उपलब्धी मुलुक र दीर्घकालीन काम गर्ने योजना अनुसार अस्पताल निर्माण गर्ने योजना अघि सारेर छलफल चलाएको हो ।