लिम्बुवानखबर, २९ जेठ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो लगायतका सामाग्री प्रचार प्रसारण गर्ने साइट तथा युट्युव बन्द गर्न आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा सामाजिक संजाल, युट्युबमा पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।
शुक्रबार न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले यौन दुर्व्यवहारको भिडियो युट्युबबाट हटाउन आदेश दिएका हुन् । ‘संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कानुनी कारबाही गर्न तथा त्यस्ता सामाग्री राख्ने साइट, युट्युवहरुलाई बन्द गर्न गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू,’ भनी आदेशमा भनिएको छ ।
पीडित युवतीहरु असुरक्षित रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको अदालतले जनाएको छ । अदालतले पीडित युवतीको सुरक्षामा ध्यान दिन सुर्खेत प्रहरीलाई आदेश समेत दिएको छ । ‘पीडितहरुको सुरक्षाको सम्बन्धमा विशेष ध्यान दिन जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाउनू,’ भन्ने आदेश दिइएको छ ।
अदालतले यसबारे पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई पनि पत्र पठाउन भनेको छ । जिल्लास्थित पत्रकार संगठनमार्फत यस्ता सामग्री प्रचारप्रसार नगर्न नगराउनसमेत अदालतले ध्यानाकर्षण गराएको हो ।
जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका–९, बोटेचौर सुर्खेतस्थित होटल सञ्चालक २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । अदालतले १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । शुक्रबार मात्रै पीडित युवतीहरुको स्वास्थ्य परीक्षण गराएका छन् । अब अनुसन्धानमा थप सहज हुने प्रहरीले जनाएको छ ।
राउटे युवायुवतीहरुले मुख्यमन्त्रीसँग भेट गर्दै संरक्षणको व्यवस्थासँगै खाद्यान्नको माग
राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्नको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आग्रह गरेका छन् । उनीहरुले शुक्रबार मुख्यमन्त्री शाहीलाई भेटेर खाद्यान्न सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका छन् ।
मुख्यमन्त्री शाहीले राउटे समुदायको तत्कालीन समस्या समाधान गर्न सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलार्ई निर्देशन समेत दिएका छन् । सधैं मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आए पनि यसपटक भने ती समस्या राख्न राउते युवायुवतीहरु आएका थिए ।