विराटनगर । आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश नं. १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न लागेको हो ।
चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको मात्र बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।
बजेटको तयारी लगभग पूरा भइसकेको मन्त्रालय स्रोतले बतायो । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ले मंगलबार बस्ने प्रदेशसभाको बैठकमा बजटे प्रस्तुत गर्नेछन् ।
आङबुहाङ प्रदेशसभाको बजेट प्रस्तुत गर्ने दोस्रो मन्त्री तथा गैर सांसदको रुपमा प्रस्तुत गर्ने पहिलो मन्त्री बन्नेछन् । तत्कालिन माओवादी केन्द्र संसदीय दलका नेता आङ्बुहाङ नेकपा विभाजनपछि एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरसँगै माओवादी केन्द्रले सांसद पदबाट आङ्बुहाङ्लाई कारवाही गरेको थियो ।
स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको बजेटमा नयाँ र महत्वकांक्षी योजनालाई प्राथमिकता नदिने मन्त्री आङ्बुहाङले बताएका छन् ।