अविरल बर्षाका कारण १३ जिल्ला बाढी प्रभावित हुँदा ५ को मृत्यु, १९ जना बेपत्ता

 लिम्बुवान न्युज
                       

काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।

विभिन्न जिल्लाबाट आज साँझसम्ममा प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा साथै अन्य सेवाहरु पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा सडक पनि अवरुद्ध भएका छन् ।

मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ । र, खोज, उद्दार तथा राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।

बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ ।

कहाँ–कहाँ क्षति पुग्यो ?

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं. ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं. ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अन्यको पहिचान खुलिसकेको छैन ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताए । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि निरीक्षणका लागि पुगेका थिए ।

बाढीले अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु पनि डुबानमा परेका छन् । बाढीका कारणले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएअनुसार बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका छन् ।

प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । गृहमन्त्री खगराज अधिकारीले नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत राहत सामग्री पठाउन र उद्दार गर्न निर्देशन दिएका थिए । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेन ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्रभावितलाई नयाँ बन्दै गरेको कारागार कार्यालयमा सारिएको थियो । उनकाअनुसार नासोँ गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

हाल प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।

पाल्पा, बाजुरा र डोटीमा एक/एक जनाको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय मदन भट्टराई छन् । घरमा मदनकी आमा पनि थिइन् । उनको सकुशल उद्दार भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार खोलाले बगाउँदा बूढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहारको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५, किम्नीमा १२ वर्षीय बालक पनि बेपत्ता छन् ।

पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पूजा कुँवर घाइते भएका छन् । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...