राष्ट्रियसभाको ८औं अधिवेशन शुरु

 लिम्बुवान न्युज
                       

काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको ८औं अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को संक्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

उनले भने, स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम पूरा भएको छ, उपकरणलाई पनि चुस्त तुल्याइएको छ, छुटेका सदस्यलाई खोप लगाउने र एन्टिजेन परीक्षण गर्ने काम भने आज भइरहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ ।

बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ । प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीसँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।

सरकारले पनि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्न मौका मिलेको छ । राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो ।

एउटा अधिवेशनको समाप्ति र अर्का अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको अधिवेशन बेग्लै आह्वान हुने अवस्था आएको हो । राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल छन्।

हाल राष्ट्रियसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत भएका छन् ।

पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा. खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनमा नयाँ प्रवेशी छन् । (रातोपाटीबाट)

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;