संसद फेरि एमाले वा जसपामा मै निर्भर

 लिम्बुवान न्युज
                       

काठमाडौं, २९ असार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरु कोटेश्वरमा भेला भए । जनै खटिरा आएर आराम गरिरहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सहज हुने गरी उनकै निवास नजिकै एक कार्यालयमा बैठक राखिएको थियो ।

बैठकमा नेता नेपाल उपस्थित त भए, तर उनको समूहले गठबन्धनबाट अलग हुने घोषणा गरेको छ । यससँगै नेपाल समूहका २३ सांसदको हस्ताक्षरको जगमा प्रधानमन्त्री बन्न लागेका देउवाले विश्वासको मत पाउँछन् वा फेरि मुलुक मध्यावधि निर्वाचनतिर जान्छ भन्ने प्रश्न उठेको छ ।

सर्वोच्चले असार २९ गते ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश नै दिएको छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएपछि देउवाले ७६ (४) अनुसार ३० दिनभित्र विश्वासको लिनुपर्छ । सर्वोच्च अदालतले नै प्रतिनिधिसभाको अधिवेशन ३ साउनभित्र बोलाउन आदेश दिएको छ ।

अर्थात कांग्रेस सभापति देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्छ ।

कांग्रेस नेता मिनेन्द्र रिजाल भन्छन्, ‘माधवकुमार नेपालको दुरदर्शीताका कारण यो यात्रामा यहाँसम्म आइपुगेका छौं । उहाँले (गठबन्धनबाट अलग हुन्छु) भनेको पनि लामो यात्राबारे सोचेरै होला । संविधान जोगाउने र जनताको बीचमा गएर जनादेश लिन मार्गचित्रअनुसार नै होला भन्ने अपेक्षा गर्छु ।’

सम्भावना एकः २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ मत चाहिन्छ । तर गठबन्धनमा आवद्ध कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४९ सांसद छन् । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षसँग १२ सांसद छन् भने राष्ट्रिय जनमोर्चाको एक सांसद जोड्दा पनि देउवाको पक्षमा १२३ हुन्छ ।

तर सर्वोच्चले ७६ (५)अनुसार सरकार गठन प्रक्रियामा समर्थन गर्दा वा मत दिँदा पार्टीको हृवीप उल्लंघनमा कारबाही गर्न नपाइने भनेर फैसला गरेको छ । त्यसैले कांग्रेसको अपेक्षा संसद जोगाउन र देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको माधव नेपाल समूहतिर छ । प्रमुख सचेतक बालकृष्ण खाँड भन्छन्, ‘हृवीप नलाग्ने भएकाले उहाँहरुले विश्वासको मत दिनुहुन्छ होला ।’

कांग्रेसले अपेक्षा जस्तो नेपाल समूहले मत दिएमा देउवाले विश्वासको मत पाउँछन् ।

सम्भावना दुई ः एमालेमा आइतबार मात्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । र, त्यो सहमतिको मर्म नै सर्वोच्चको फैसला आएपछि एमाले एक ठाउँमा उभिने भएको नेपाल समूहका नेताहरु बताउँछन् । अर्थात माधव नेपाल समूहले पार्टीको संस्थागत निर्णय विना देउवालाई विश्वासको मत दिँदैन । माधव समूहमा रहेका एमाले नेता रघुजी पन्त भन्छन्, शेरबहादुरजी प्रधानमनत्री हुनुभयो । अब उहाँले समर्थन लिन प्रयत्न गर्नुहुन्छ । हाम्रो पार्टीले दिन पनि सक्छ, नदिन पनि सक्छ ।’

एमालेको मत नपाएको अवस्थामा देउवाको विकल्प जसपाको महन्थ ठाकुर पक्षको मत लिनु हुनेछ । तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १९ दिन सहकार्य गरेको र मध्यावधि चुनावको पक्षमा देखिएको यो समूहले देउवालाई प्रधानमन्त्रीमा राखिराख्न विश्वासको मत दिने आधार अहिलेसम्म देखिएको छैन ।

फेरि पनि संसद विघटन ?

एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहमध्ये कसैले पनि साथ दिएन भने अबको ३० दिनभित्र देउवाले विश्वासको मत पाउँदैनन् । त्यस्तो बेला संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन हुन्छ र मध्यावधि निर्वाचन घोषणा हुनेछ । निर्वाचन गरेर ६ महिनाभित्र प्रतिनिधिसभाको बैठक बसिसक्नुपर्ने भएकाले ढिलोमा मंसिर अन्तिम र पुस पहिलो सातासम्म चुनाव हुने अवस्था आउनसक्ने दलहरुको विश्लेषण छ ।

कांग्रेसका कतिपयहरु नेताहरु पनि मंसिररपुसमा चुनाव हुँदा नै राजनीतिक रुपमा लाभ देख्छन् ।

२०७३ साउनमा पनि प्रधानमन्त्री ओलीलाई हटाएर कांग्रेस र माओवादी केन्द्रले गठबन्धन सरकार बनाएका थिए । आलोपालो सरकार चलाउने दुई दलको सहमति अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवा एकएक वर्ष प्रधानमन्त्री भए । तर यो अवधिमा भएका स्थानीय, प्रदेश तथा आम निर्वाचनमा एमाले पहिलो शक्ति बनेको थियो ।

अहिले फेरि स्थानीय चुनावको पूर्व संध्यामा कांग्रेस र माओवादी गठबन्धन सरकार बनेको छ । सरकारले राम्रो पर्फम गर्न सकेन भने आगामी चुनावमा असर गर्ने कांग्रेस नेताहरुको विश्लेषण छ । ‘चुनाव मंसिरमै गर्ने कि एक/डेढ वर्षमा गर्ने भन्ने हाम्रो हातमा छैन’ कांगेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘हाम्रो मात्र स्वार्थ हेर्ने हो भने मंसिरमा चुनाव गर्दा फाइदा छ । एमाले र जसपामा विवाद छ, ओलीको ठाउँमा देउवाको सरकार आएको छ ।’

एमालेका एक नेताले पनि देउवालाई एकडेढ वर्ष सरकार चलाउन दिएर चुनावमा जाने आफूहरुलाई फाइदा हुने बताउँछन् । त्यसका लागि या त महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिनुपर्छ या आफैंले समर्थन गर्नुपर्छ । तर आफूलाई अदालतको परमादेशको बलमा हटाएर प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मत दिन निर्णयमा एमाले अध्यक्ष ओली पुग्न सजिलो छैन ।

त्यस्तो अवस्थामा संविधानससम्वत रुपमा संसद भंग हुनेछ र मुलुक निर्वाचनतिर जानेछ । त्यो अवस्थामा पनि ओलीको ठाउँमा देउवा आए, अरु उस्तै हो भन्ने नमिल्ने कांग्रेस नेताहरुको तर्क छ । उनीहरुका अनुसार ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग तथा कात्तिक २६ र मंसिर ३ का लागि घोषित निर्वाचन असंवैधानिक थियो, जुन सर्वोच्चको सोमबारको फैसलाले खारेज भयो ।
अब देउवाले विश्वासको मत पाएनन् र प्रतिनिधिसभा विघटन भयो भने त्यो संविधानसम्मत हुन्छ । -अनलाइन खबरबाट

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...