
फाइल तस्वीरः
काठमाडौं, १६ साउन। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।
आज बसेको बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता भई जनता समाजवादी पार्टी बनेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन । जसपामा विवाद बढेका बेला महन्थ ठाकुर पक्षले बहुमत सांसदको समर्थन जुटाएर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो ।
विवाद भईरहेको अवस्थामा पार्टी नै फुटको संघारमा पुगेको अवस्थामा निर्वाचन आयोगबाट यादव पक्षले आधिकारिकता पाएपछि जसपाले फेरि संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेतामा निर्वाचित यादव जसपाको अध्यक्ष समेत हुन् । डा. बाबुराम भट्टराई पार्टीको संघीय परिषद् अध्यक्ष छन् । निर्वाचन आयोगले अर्का अध्यक्ष महन्थ ठाकुरलाई बर्खास्त गरेपछि सो पद भने रिक्त रहेको छ ।
जसपाको संसदीय दलको नेता छान्ने बैठकमा यादव समूहमा खुलेका २१ जना सांसदहरुको उपस्थिति रहेको थियो । यस्तै संसदीय दलको विधान अनुुसार राष्ट्रिय सभाको दलको नेता भने मनोनयन गर्ने व्यवस्था छ ।