
लिम्बुवानखबर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना बरिष्ठ पत्रकारहरुलाई पुस्कृत गर्ने भएको छ । शनिबार ८ जना बरिष्ठ पत्रकारहरुको नाम सार्वजनिक गर्दै पुरस्कृत गर्ने फोनिजले निर्णय गरेको हो ।
फोनिजका महासचिव मनोज घर्तीमगरद्धारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट पत्रकार आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल पुरस्कृत हुनेछन् । त्यसै गरी फोनिज अवार्ड–२०७८ बाट तिलक पुन, रचना श्रेष्ठ, इन्द्रजीत मुखिया र भवानी बराल पुस्कृत हुनेछन् ।
फोनिजले यस वर्षबाट ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ समेत प्रारम्भ गरेको छ । ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट थारु भाषामा प्रकाशित हुँदै आएको ‘पहुरा दैनिक’ र लिम्बू भाषामा प्रकाशित हुँदै आएको ‘तान्छोपा मासिक’लाई संयुक्त रुपमा सम्मानित गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकारिता पुरस्कार र मातृभाषा सम्मानको राशी २० हजार रुपैयाँ रहेको छ । फोनिजले आफ्नो २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गते ८ जना वरिष्ठ पत्रकारलाई पुरस्कार र दुई मातृभाषी संचार संस्थालाई सम्मान प्रदान गर्ने जनाएको छ ।