विर्तामोड। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले जुममार्फत २२ औं स्थापना दिवसको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
जुममार्फत आयोजित कार्यक्रममा फोनिजका नेताहरु लगायत नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकारजन्य संगठनका प्रमुखहरुले २२औं फोनिज स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख वक्ता फोनिजका सङ्घीय सचिव कमन देवानले कोरोना संक्रमणबाट संक्रमित पत्रकारहरुको निःशुल्क उपचार गर्न राज्यसमक्ष माग गरेका थिए । उनले फोनिज अन्य सबै पत्रकारजन्य संगठनहरुसँग सह–अस्तित्वमा आधारित रहेर सहकार्य गर्दै अघि बढेको बताए ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गीरीले महासंघ झापा शाखा सदैव फोनिज झापासँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको बताए । उनले आदिवासी जनजातिलगायत उत्पीडित वर्ग समुदायको मुद्दा सबै पत्रकार र सञ्चार माध्यमले उठाउँनु पर्नेमा जोड दिए ।
कार्यक्रममा फोनिजका प्रदेश नम्बर १ अध्यक्ष अर्जुन जम्नेली राई, संघीय पत्रकार मञ्च, नेपालका संयोजक दिल कुमार लावती, प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेती, प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टाराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कोरोना महामारीका कारण झापा जिल्लामा जारी निषेधाज्ञाका कारण जुम कार्यक्रममार्फत स्थापना दिवस मनाइएको कार्यक्रम संयोजक एवम् उपाध्यक्ष देशराज नेम्बाङले जानकारी दिए ।
फोनिज झापाका अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार बारे घोषणा गरिएको थियो ।