काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशको केही प्रदेशहरुमा अझै बर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार आज मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले बर्षाको सम्भावना बढेको जनाएको छ ।
मौसम सामन्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
यसैगरी, आज दिउँसो र राती समेत देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने थोरै स्थानमा मेघ गर्जन र चट्यासहित बर्षाको सम्भावना रहेको हुँदा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।