
विर्तामोड, २ भदौ । नेपाल प्रेस युनियन झापा शाखाले रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापा विर्तामोड–४ निवासी रमादेवी–टंकप्रसाद पाठकको स्मृतिमा उनका छोरी–ज्वाई टीकादेवी–कृष्णप्रसाद संग्रौलाले पुरस्कार स्थापनाका लागि एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।
पाठक दम्पतीका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठकले यस अघि नै एकलाखको अक्षयकोष स्थापना गरेका थिए । विर्तामोडमा आयोजित एक समारोहका बीच अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
दाता कृष्णप्रसाद संग्रौलाले आफ्ना सासु–ससुरासँग जीवनभर अत्यन्तै नजिक रहेको स्मरण गर्दै हरेक सामाजिक तथा पारिवारिक काममा सहकार्य हुनेगरेको बताए । सादा जीवन र उच्च विचार राख्ने उहाँहरुको जीवन अत्यन्तै सरल र अनुकरणीय रहेको सम्झदै उनले दिवंगत आत्माको चिर शान्तिको कामना गरे।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भटराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल प्रेस युनियनकी झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ओमप्रकाश भटराईले गरेका थिए भने कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा महिला उपाध्यक्ष सुशिला संग्रौला, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष शेखर सेढाई, पत्रकारहरु लक्ष्मी लुइटेल, रेजिना गौतम लगायतको उपस्थिति रहेको थियो ।
अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट प्रत्येक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गरिने प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भटराईले जानकारी दिए । अक्षयकोष सञ्चालन कार्यविधि तयार भइसकेको र सोही कार्यविधि अनुसार पुरस्कार छनौट समितिले प्रतिभा छनौट गर्ने एवं प्रत्येक बर्ष प्रेस युनियनको स्थापना दिवसको सन्दर्भ पारेर उक्त पुरस्कार प्रदान गरिने युनियनका सचिव डिल्लीराम घोर्साईले बताएका छन् ।