
फाइल तस्वीर
लिम्बुवानखबर, ४ भदौं । ४० बर्ष वा सोभन्दा माथिका उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । त्यसैगरी प्लस टुका विद्यार्थीलाई पनि खोप आजबाट दिन शुरु गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो ।
काठमाडौंका खोप केन्द्रहरुमा आजबाट खोप कार्यक्रम शुरु भएको हो । काठमाडौंमा यो खोप लगाउने अभियान भदौ ४ देखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य विभागका अनुसार काठमाडौंको सबै वडाहरुबाट ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने जनाएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने कागजात अनिवार्य ल्याउन भनिएको छ ।
त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुलाई खोप लगाइने जनाइएको छ ।
विद्यार्थीको हकमा भने खोप लगाउन आउँदा परीक्षाको प्रवेशपत्र अनिवार्य देखाउनु पर्नेछ ।