
लिम्बुवानखबर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएका छन् । विराटनगरमा आज बिहान बसेको नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा भीम आचार्यलाई संसदीय दलको नेता चयन गरे लगतै उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा बुझाएका हुन् ।
आजै प्रदेश १ का मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पदभार ग्रहण गरेका छन् । उनले आज प्रदेश प्रमुख प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको रुपमा शपथ गराएका हुन् ।
आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् ।
अब मुख्यमन्त्री आचार्यले संविधानको व्यवस्था अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ ।