
लिम्बुवानखबर, १ असोज । चीनबाट नेपाल सरकारले थप ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार खोप दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
बिहीबार निगमको वाइडबडी–३३० जहाज खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट ६० लाख डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको छ यद्यपी पछिल्लो समय खरिद गरिएको १६ लाख डोज खोप मात्र आएको थियो ।
स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखाले जनाए अनुसार हालसम्म नेपालमा एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिएको छ । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको विवरण छ ।
अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन सरकारले चीनसँग छलफल चलाईरहेको स्रोतले बताएको छ ।