सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को चर्चा

 लिम्बुवान न्युज
                       

फिदिम, १३ असोज । कवि एवं पत्रकार सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को बुधवार फिदिममा चर्चा गरिएको छ ।

पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा उक्त कृतिमाथि लक्ष्मीप्रसाद ढुङ्गाना र मधुराज केरुङले टिप्पणी राख्नुभएको थियो । कृतिमाथि टिप्पणी राख्दै समीक्षक ढुङ्गानाले गजलकार सुब्बा काब्यिक चेतनाबाट गजल लेखनमा स्थापित भएकाले उहाँका गजलहरु अब्बल रहेको वताउनुभयो । उहाँले दर्शन बुझेर लेख्ने र भावाबेसभन्दा माथि उठेर जीवन भोगाइहरुलाई गजलका रुपमा कृतिमा समेट्न सुब्बा सक्षम रहेको टिप्पणी गर्नुभयो ।

कुशलतापूर्वक गजललाई संरचनागत रुपमा रुप र भाव पक्षलाई समेटेर गजलहरु समेटिएकाले यो कृतिले नेपाली गजल एवं साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास उहाँले ब्यक्त गर्नुभयो । आवाजविहीनहरुका आवाजलाई गजल सङ्ग्रहले समेटेको र समग्रमा मानव जीवन देखिने सबै प्रकारका विविधता वा स्वादहरुको प्रतिबिम्ब उक्त कृति रहेको ढुङ्गानाको टिप्पणी थियो ।

अर्का टिप्पणीकार केरुङले उक्त सङ्ग्रहले मुन्धुमी मिथकहरुदेखि क्रान्ति र आन्दोलनमा भावहरु, जीवन भोगाई, प्रेम र वियोगका अनुभूतिहरु, समाजका निमुखाहरुका पीडा र आवाजहरु उक्त गजल सङ्ग्रहले समेटेको वताउनुभयो । जीवन भोगाइका आशा र निराशाका पक्षहरुको प्रस्तुति, प्रेम र वियोग दुवैका अनुभूति, समाजका विभिन्न पक्षहरुलाई गजलहरुले समेटेकाले उक्त सङ्ग्रह निकै उत्कृष्ट रचना रहेको केरुङले टिप्पणी गर्नुभयो ।

यसअघि ‘आगोको सौन्दर्य’ नामक कविता सङ्ग्रह प्रकाशन गरिसक्नुभएका सुब्बा विशेषतः कविता लेखनमा राष्ट्रिय स्तरमा स्थापित र पुरस्कृत नाम हो । उहाँले केही समयअघि प्रकाशनमा ल्याउनुभएको उक्त गजल सङ्ग्रहमा स्थानीय परिवेशदेखि अन्तर्राष्ट्रिय सन्दर्भसमेत प्रष्फुटित छन् ।

उक्त पुस्तक चर्चा कार्यक्रममा सर्जक सुब्बाले आफ्ना कृतिहरुबाट सङ्कलन हुने रकमको केही भाग जम्मा गरेर आफ्ना बुवाआमा मनबहादुर–पृथमाया लिम्बुको नाममा अक्षयकोष स्थापना गर्ने तयारी गरेको वताउनुभयो । याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नारी श्रष्टा मीना राईले समेत आफ्ना भनाई राख्नुभएको थियो ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...